जनता टाइम्स

१२ भाद्र २०८०, मंगलवार १९:२३

दिनेश घिमिरे सचिवमा बढुवा


काठमाडौं, भदौ १२ । सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि पहिलो नम्बरमा दिनेशकुमार घिमिरे, दोस्रो नम्बरमा राधिका अर्याल र तेस्रो नम्बरमा चूडामणि पौडेलको नाम सिफारिस गरेको थियो ।

सोही आधारमा सरकारले घिमिरेलाई बढुवा गरेको हो । सचिवमा बढुवा भएका घिमिरे हाल चीनको छेङ्दुस्थित महावाणिज्य दूतावासमा महावाणिज्य दूत हुनुहुन्छ ।

यस्तै सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस भएका अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख एवं प्रवक्ता हुनुहुन्छ भने पौडेल शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको जिम्मेवारीमा हुनुहुन्छ ।