जनता टाइम्स

१२ भाद्र २०८०, मंगलवार २१:४६

सुन नेपाल छिराएको प्रकृतिमा जनार्दन शर्माका प्रिय पात्रले प्लास्टिक भनेर काजु पास गरेपछि


काठमाडौँ १२ भदौ । भैरहवा भन्सारबाट प्लास्टिक भनेर काजु पास गराइएपछि कार्यालय प्रमुख निगरानीमा पर्नुभएको छ। भैरहवा भन्सारबाट दुई ट्रक काजु प्लास्टिक भन्दै पास भएको थियो। त्यसपछि भन्सार कार्यालय प्रमुख मणिराम पौडेल निगरानीमा पर्नुभएको हो । यसअघि नै पास भएको वस्तुहरुको विषयमा समेत छानबिन गर्न अर्थ मन्त्रालयले उहँलाई निगरानीमा राखेको हो। पौडेल जनार्दन शर्मा अर्थमन्त्री रहँदा उक्त भन्सार प्रमुखको जिम्मेवारीमा जानुभएको थियो।
गत शुक्रबार भन्सार विभागले लु ५ ख ३३६ र यूपी ५३ ओटी ५७८ नम्बरको ट्रक प्लास्टिक आयत भएको भनेर भन्सार पास गरायो। तर, त्यसमा प्लास्टिक थिएन। जसको सूचना मन्त्रालयसम्म आइपुग्यो। भन्सारमा आएको सामान चेकजाँच गरी प्रक्रिया अनुसार पास भएको थियो। भन्सारको कर्मचारीबाट नै त्यो सामान प्लास्टिक नै हो भन्ने यकिन गरिएको थियो। अर्थात् जाँचपास भैसकेको थियो। तर प्लास्टिक नभएको सूचना अर्थ मन्त्रालयमा नै आइपुग्यो। त्यसपछि मन्त्रालयले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई प्लास्टिक भनेर काजु किन भन्सार पास गराएको भनेर सोध्नुभएको थियो ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार त्यसपछि तत्काल रेकी गर्न भन्सार विभागका महानिर्देशकले भन्सार कार्यालयलाई निर्देशन दिनुभयो। लगत्तै ट्रक नियन्त्रणमा लिइएको थियो। ट्रकमा केही कपडा र काजु भेटिएको भन्सार विभागले जनाएको छ। विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार त्यो ट्रक भन्सार कार्यालयले नै समातेको हो। मन्त्रालयले मिलेमतोको आशंका गर्दै कार्यालय र भन्सार प्रमुखमाथि निगरानी सुरु गरेको हो। भन्सारबाट वस्तु पास हुँदा न्यून बिजकीकरण र अधिक बिजकीकरण हुने गरेका छन्।

जसमा भन्सार कार्यालयको पनि मिलेमतो हुने गर्दछ। तर बिलअनुसार कर तिरकोले कारबाहीमा अफ्ठेरो परेको भन्दै भन्सार प्रमुखहरु उम्किने गर्छन्। तर पछिल्लो समय एउटा भनेर अर्को सामान ल्याउने, मिसावटको सामान ल्याउने गरेको घटनाहरु धेरै भेटिएका छन्। त्यसमा भन्सार कर्मचारीहरुको समेत मिलेमतो हुने गरेकोमा अर्थ मन्त्रालयले चासो दिएको हो। त्यसैकारण भैरहवा भन्सार कार्यालका प्रमुख मणिराम पौडेललाई यसअघिका घटनाहरुमा समेत समेत निरानीमा राखिएको हो। ‘लु ५ ख ३३६ र यूपी ५३ ओटी ५७८ नम्बरको ट्रक जसले काजु भनेर जाँचपास गराए, तिनीहरुले यो भन्दाअघि ३ पटक सामान पास गरेको देखिएको छ। त्यसमा समेत मिलेमतो भएको हुनसक्ने आशंका छ,’ विभागका अर्का अधिकारीले भन्नुभयो , ‘सुन नेपाल छिराएको प्रकृतिमा नै मणिराम पौडेलले सामान छिराएको आशंका गरिएको छ।’