जनता टाइम्स

१४ भाद्र २०८०, बिहीबार १४:५८

पुराना कर्मचारीको सरुवा गर्न स्वास्थ्यमन्त्रीको निर्देशन


नेपालगन्ज, १४ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले लामो समयदेखि एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरिरहेका कर्मचारीको सरुवा गर्न निर्देशन दिनुभएको छ । एउटै व्यक्ति लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नपाउने भन्दै उहाँले त्यस्ता कर्मचारीको अन्यत्र सरुवा प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो ।

एउटै व्यक्ति १५, १६ वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको पाइएको र यो विषयमा व्यवस्थापन समिति गम्भीर भएर सरुवा प्रक्रियालाई अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । आज भेरी अस्पतालको अवलोकन गर्दै मन्त्री बस्नेतले उक्त अस्पताललाई अझै व्यवस्थित गराउन मन्त्रालयले आवश्यक बजेट छुट्याउने बताउनुभयो । स्तरोन्तिका लागि मन्त्रालय आन्तरिक र बाहृय दुवै पक्षसँग व्यवस्थापनका लागि धेरै शीर्षकमा बजेट पठाएको छ ।

उहाँका अनुसार अझै व्यवस्थित हुन बाँकी नै भएको हुनाले अस्पताल व्यवस्थापनका लागि आवश्यक बजेट पठाउन मन्त्रालय तयार रहेको छ । मन्त्री बस्नेतले अस्पतालको फोहोर व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापन समितिलाई निर्देशन दिनुभयो । गरिब तथा विपन्न परिवारका बिरामीहरुले सहज र सुलभ रुपमा अस्पतालमा उपचार पाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।