काठमाडौं, १२ भदौ । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामलगायतमा पनि मदिाराजन्य पदार्थको विज्ञापनमा रोक लगाइएको छ । नेपालमा अब फेसबुक र इन्स्टाग्राममा मदिराजन्य पदार्थका विज्ञापनहरु देख्न नपाइने भएको हो । फेसबुक र इन्स्टाग्रामको मुख्य सञ्चालक मेटाले सोमबार सूचना जारी गर्दै मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाइएको जनाएको हो ।
मेटाले सूचनामा नेपाल सहित १८ वटा देशमा उक्त देशको कानूनले मदिराजन्य पदार्थको विज्ञापन सामाजिक सञ्जालमा गर्न निषेध गरेको उल्लेख गर्दै त्यसको पालना आफुहरुले गरेको जनाएको छ । मेटाले दक्षिण पूर्वी एसियाका देशहरुमध्ये नेपालसहित अफगानिस्तान, बंगलादेश, भारतका निश्चित प्रान्तहरु, थाइल्याण्ड र पाकिस्तानमा मदिराजन्य विज्ञापनहरु आफ्नो सोसल मिडिया प्लेटफर्महरुमा रोक लगाएको हो ।
यस्तै, ब्रुनाई, इजिप्ट, जिम्बाबे, कुवेत, लिबिया, लिथुनिया, नर्वे, रसिया, साउदी अरब, टर्की र युएई र एमनमा पनि मदिराजन्य विज्ञापनमा रोक लगाएको छ । नेपालमा गत ११ फागुनमा सर्बोच्च अदालतले मदिराजन्य पदार्थको सार्वजनिक विज्ञापन गर्न नपाउने आदेश दिएको थियो । उक्त आदेशको पालना गर्दै मेटाले नेपालभित्र संचालित फेसबुक र इस्टाग्रामका एकाउण्टमा मदिराजन्य विज्ञापन गर्न र हेर्न नपाइने व्यवस्था गरेको हो ।
उपभोक्ता हित संरक्षण मञ्चका ज्योति बानियाले फेसबुक र इन्स्ट्राग्रामले गरेको निर्णय प्रति खुशी व्यक्त गर्नुभएको छ । मञ्चले पत्रपत्रिका तथा अनलाइन तथा सामाजिक सञ्जालमा मदिराजन्य पदार्थका विज्ञापन रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर गरेको थियो । उक्त रिटमा सर्बोच्चले आदेश जारी गर्दै नेपालमा पत्रपत्रिका तथा अनलाइन र सामाजिक सञ्जालतमा मदिराजन्य पदार्थको विज्ञापन गर्न नपाइने आदेश जारी गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्