जनता टाइम्स

१९ भाद्र २०८०, मंगलवार १८:३८

गल्ती गर्ने एक जना नउम्कियोस, निर्दोष कोही नफसोस् : पुन


काठमाडौं, १९ भदौ । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले भ्रष्टाचार र बेथिति अन्त्यका लागि सरकारले चालेको कदम नरोकिने बताउनुभएको छ । उहाँले सरकारले बेथिति अन्त्य र सुशासन कायम गर्ने एजेण्डालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गर्नुभयो ।

सुशासनका लागि कदम चाल्दा दोषी कोही नउम्किउन् र निर्दोष कोही नपरुन भन्नेमा सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो । उहाँले अनुसन्धानका सिलसिलामा माओवादीसहित सरकारका संलग्न दलका नेता कार्यकर्ता वा उनीहरुहरुका निकट व्यक्ति संलग्न भए पनि उन्मुक्ति पाउन नहुने स्पष्ट गर्नुभयो ।

‘बेथितिविरुद्ध प्रहार गर्ने क्रममा सत्तामा भएका वा नभएका दलका नेता, मन्त्री, प्रधानमन्त्री, उनका परिवारका सदस्य वा निकट व्यक्ति अपराधमा संलग्न रहेछन् भने नछुटुन्’, पार्टी सम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले आज राजधानीमा गरेको कार्यक्रममा पुनले भन्नुभयो ‘तर, सत्तापक्ष वा आफ्नै पार्टीभित्र, आफूसँग असहमत प्रमुख प्रतिपक्षसहित प्रतिपक्षतर्फ लक्षित गरी राज्यशक्तिको दुरुपयोग गर्ने काम भयो भने भ्रष्टाचारविरोधी अभिायन सफल हुन सक्दैन। त्यसैले म भन्छु गल्ती गर्ने एक जना पनि नउम्कियोस, निर्दोष कोही नफसोस्।’

पुनले कसैमाथि आरोप लाग्दैमा उसका वरिपरका सबैमाथि अपराधी झैं गरी सामाजिक चरित्र हत्या गर्ने प्रवृत्ति डरलाग्दो रुपमा बढेर गएकामा चिन्ता व्यक्त गर्नुभयो । दलका नेता, कर्मचारी, चित्किसक, इन्जिनियर, व्यवसायीमध्ये केहीले गल्ती गर्दैमा वा आरोप लाग्दैमा ती कर्ममा संलग्न सबै खराब हुन भन्ने मनोविज्ञान समाजमा हाबी हुन खोजेकामा चिन्ता व्यक्त गर्नुभयो ।

पुनले विशिष्ट अवस्थामा आफ्ना अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारसँग अपेक्षा धेरै भएको बताउनुभयो । कयौं विषयमा राजनीतिक मतभेद रहे पनि सरकारले राष्ट्रिय सरोकारका विषयमा प्रमुख प्रतिपक्षी एमालेसहित सबै पक्षसँग सहकार्य र साझा अवधारणा बनाएर अघि बढ्न खोजेको पुनले उल्लेख गर्नुभयो । राष्ट्रिय सरोका र एजेण्डामा सबै राजनीतिक शक्तिबीच समान धारणा बन्ज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।