एजेन्सी, २० भदौ । गर्भवती भएको परीक्षण घरमा नै गर्ने उपाय भनेको त्यसका लागि निर्मित विशेष साधन प्रयोग गरेर ‘ह्युमन कोरिओनिक गोनाडोट्रोपिन’ भनिने होर्मोन पिसाबमा छ कि छैन भनेर जाँच्ने हो।
अहिले कोही महिला गर्भवती भइन् कि भइनन् भनेर जाँच्न निकै सहज छ। एउटा सानो लट्ठी जस्तो उपकरणमा पिसाब फेर्ने र त्यहाँ केही सङ्केत देखिन्छ कि भनेर हेर्ने।
पाठेघरमा गर्भ रहे नरहेको परीक्षण गर्ने त्यस्तो सजिलो र छिटो तरिका सन् १९६० को दशकमा पहिलो पटक व्यापारिकरूपमा बजारमा उपलब्ध भएको थियो।
उनीहरूले ‘ह्युमन कोरिओनिक गोनाडोट्रोपिन’ एचसीजी होर्मोन पिसाबमा रहे नरहेको जाँच्ने हो जुन होर्मोन महिलाको अण्डामा पुँसेचन भएपछि सालनाल बन्न थाल्दा शरीरका कोषहरूले उत्पन्न गर्छन्।
गर्भ रहे नरहेको रक्त परीक्षण प्रक्रियाबाट ११ दिनपछि नै पत्ता लाग्न सक्छ र त्यसको केही दिनपछि पिसाबको परीक्षणले पत्ता लाग्न सक्छ ।
तर परीक्षणले देखाउँदैमा शतप्रतिशत बच्चा भइहाल्छ भन्ने चाहिँ होइन किनभने हरेक पाँचमध्ये एउटा गर्भ खेर जाने गरेको बताइन्छ।
र पनि गर्भको परीक्षण ‘पोजिटिभ’ आउने बित्तिकै आमा बन्ने या बाबु बन्ने प्रक्रियाको यात्रा सुरु भयो भन्ने अर्थमा हेरिन्छ।
पहिले पहिले गर्भ पत्ता लगाउने तरिका अलि फरक थियो ।
कसैको मासिकश्राव हुन रोकियो या कसैलाई निश्चित खानेकुरा प्रतिको चाहना प्रबल भयो भने गर्भ बसेको भन्ने सोचिन्थ्यो।
गर्भ बसेको लामो समयसम्म पनि त्यस्ता लक्षणहरू कुनै रोग या ‘मेनोपज’ रजोनिवृत्तिका कारण भएको हो कि भन्ने ठ्याक्कै पत्ता लगाउन मुस्किल थियो।
पत्ता लगाउने तरिका
प्राचीन ग्रीसमा महिलाहरू स्वयंले आफू गर्भवती भएको थाहा पाउँछन् भन्ने विश्वास गरिन्थ्यो । किनभने उनीहरू यौन संसर्ग गरेपछि गर्भाशय बन्द भएको महसुस गर्छन् भनिन्थ्यो, जुन वास्तवमा असम्भव कुरा हो।
विशेषगरी त्यस्तो असाध्यै प्रारम्भिक अवस्थामा पुँसेचन हुने वा पुँसेचन भएको अण्ड गर्भाशयको भित्तामा टाँसिने प्रकृया नै भइसकेको हुँदैन ।
तर ऐतिहासिक कालदेखि नै मानिसहरू गर्भ रहे नरहेको पत्ता लगाउने एक या अर्को विभिन्न परीक्षणहरू गरिरहन्थे ।
इशापूर्व चौथो शताब्दीको हिप्पोक्रेटिक चिकित्सा सम्बन्धी लेखोटमा महिलाहरूलाई सुत्नुअघि एक विशेष प्रकारको मदिराको मिश्रण पिउन लगाउनु पर्छ भन्ने उल्लेख भएको पाइन्छ। वाइन, पानी र मह मिसाएर बनाइएको त्यस्तो पेय पदार्थ पिउँदा ती महिलाको पेट दुःखेमा र पेटमा गड्याङ्गगुडुङ्ग भएमा उनी गर्भवती भएको मानिन्थ्यो।
युनिभर्सिटी अफ अकल्यान्डका इतिहासका प्राध्यापक किम फिलिप्सले “सिक्रेट्स अफ विमिन” अर्थात् “महिलाका गोप्य कुरा” नामक इशाको तेह्रौँ शताब्दीमा लेखिएको चिकित्सा विज्ञानसम्बन्धी सामग्रीको अध्ययन गरेका छन् । त्यसमा यदि कोही महिलाको स्तन जमिनतिर घोप्टिएका छन् भने उनी गर्भवती भएको मानिन्थ्यो भन्ने लेखिएको छ।
‘पुँसेचनका बेला महिलाको रक्त वक्षस्थलतिर प्रवाह हुन जाने भएकाले त्यस्तो हुने विश्वास गरिन्थ्यो।’
पिसाबको भूमिका
अहिले गर्भ रहे नरहेको पक्का गर्नमा पिसाब परीक्षणको महत्त्वपूर्ण स्थान छ।
महिलाको पिसाब परीक्षण गरेर गर्भवती भए नभएको पत्ता लगाउने प्रकृया आधुनिक तरिका हो जस्तो लाग्न सक्छ तर वास्तविकता त्यस्तो होइन।
खासमा, पपाइरस भनिने प्राचिन समयको इजिप्टेली कागतमा लेखिएका कम्तीमा तीन प्राचीन लेखले ४ हजार ५०० वर्ष अगाडि नै गर्भ परीक्षणका लागि पिसाबको प्रयोग हुने गरेको देखाएका छन्।
ती पपाइरस लेखमा बताइए अनुसार गर्भवती हुन सक्छु कि सक्दिनँ भन्ने जाँच्न चाहेकी महिलाले वा गर्भ बसिसकेको हुनसक्ने महिलाले गहुँ र जौको बीउमा लगातार केही दिनसम्म पिसाब गर्ने गर्दथे ।
त्यस क्रममा यदि जौ पहिले उम्रेमा छोरा जन्मिन्छ भन्ने ठानिन्थ्यो र गहुँ पहिले उम्रेमा छोरी जन्मिने मानिन्थ्यो । यदि कुनै पनि बिउ उम्रिएन भने महिला गर्भवती नरहेको मानिन्थ्यो ।
इतिहासका विभिन्न कालखण्डमा पिसाबको प्रयोग गरेर अनेकथरी परीक्षण हुने गरेको पाइन्छ।
मध्यकालीन समयका कैयौँ चिकित्सासम्बन्धी लेखका अनुसार महिलाको पिसाबमा डुबाइएको सियो कालो वा रातो रङ्गको बन्न पुग्यो भने ती महिला गर्भवती भएको मानिन्थ्यो।
१६ औँ शताब्दीमा निडल अर्थात् सियोलाई अपभ्रंश भएर नेटल अर्थात् सिस्नो भनियो र यदि रातभर पिसाबमा डुबाएको सिस्नोका पातमा यदि बिहानै राता थोप्लाहरू देखिए भने ती महिला गर्भवती भएको मानिन्थ्यो ।
यी सबै परीक्षण चिकित्सकको सुपरिवेक्षणमा वा व्यक्ति आफैले पनि गर्न सकिन्थ्यो । सन् १५१८ मा स्थापना भएको ‘द रोयल कलेज अफ फिजिसियन्स अफ लन्डन’ ले महिलाहरूलाई चिकित्सक वा उपचारकको काम गर्नमा रोक लगाएको थियो । त्यस्ता काममा युरोस्कोपी भनिने पिसाबको चिकित्सकीय जाँच पनि पर्दथ्यो तर रोक लगाइएको भएपनि केही महिलाले त्यस्तो जाँच गर्ने अभ्यासलाई जारी नै राखे ।
१७औँ शताब्दकीको सुरुतिर “मिस्ट्रेस फिलिप्स” नाम गरेकी एक महिला(सम्भवतः सुढेनी महिलाविरुद्ध गर्भ रहे नरहेको जाँच गर्न युरोलोजी प्रकृयाको प्रयोग गरेको भनेर अदालतमा मुद्दा चलाइएको थियो।
सन् १५९० मा लन्डनमा अवैधानिकरूपमा डाक्टरी अभ्यास गरेकी क्याथरिन चेयरको गर्भ पत्ता लगाउने आफ्नै उपाय थियो। उनी “मानिसहरूका लुगा साबुन र रेड रोज वाटर अर्थात् रातो गुलाफजल”ले धोएर गर्भ रहे नरहेको पत्ता लगाउने गरेको दाबी गर्थिन्।













प्रतिक्रिया दिनुहोस्