काठमाडौं, २० भदौ । नेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलङ्गवा नगरपालिका–८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झन्डा फहराइएको छ । मङ्गलवार एक समारोहबीच मलङ्गवाको सोनवरसा सीमा नाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झण्डा मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले फहराउनुभयो ।
त्यस अवसरमा अर्थमन्त्री यादव र मलङ्गवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवले संयुक्तरूपमा पार्कको उद्घाटनसमेत गर्नुभयो । कार्यक्रममा अर्थमन्त्री यादवले मधेस प्रदेशमा निर्माण गरिएको हजारौँ योजनामध्ये सर्लाहीको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्नलाई निर्माण गरिएको योजना प्रदेशकै गौरवका रूपमा रहेको बताउनुभयो ।
राष्ट्रिय झण्डाले सम्पूर्ण नेपालीको मान सम्मान एवम् स्वाभिमानलाई प्रतिबिम्बित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री यादवले आउने दिनमा मलङ्गवा नगरपालिकाका साथै सर्लाहीमा प्रदेश सरकारको लगानीमा विभिन्न विकास निर्माणको काम गरिनेसमेत बताउनुभयो ।
मधेस प्रदेश सरकारको विशेष अनुदानबाट प्राप्त ३० लाख रुपैयाँको लागतमा मलङ्गवा नगरको गौरवका रूपमा पार्क निर्माण गरी राष्ट्रिय झण्डा राखिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि, पार्टी प्रतिनिधि, आमनागरिक, नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीका स्थानीय प्रमुखलगायतको सहभागिता थियो ।













प्रतिक्रिया दिनुहोस्