काठमाडौं, भदौ २३
सरकारले आजबाट ठूला चाडपर्वहरुलाई लक्षित गरेर सहुलियत पसल शुरु गरेको छ । उपभोक्तालाई बाहिर भन्दा केही रकम घटाएर सामान उपलब्ध गराउने उदेश्य अनुरुप सोमबारदेखि सहुलियत पसल सुरु गरेको हो ।
काठमाण्डौ उपत्यकाका ९ ठाउँसहित देशका अरु मुख्य ठाउँमा पनि सहुलियत पसल सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।सहुलियत पसल कात्तिक १६ गतेसम्म सञ्चालनमा आउनेछन् ।
सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ । सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ । त्यस्तै, च्यांग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ भने चिनीमा प्रतिकिलो ५ रुपैयाँ सहुलियत दिने तयारी छ ।
साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले सहुलियत पसल सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । यस्तै काठमाण्डौमा ३ वटा घुम्ती पसल सञ्चालन गर्ने तयारी पनि छ । देशैभरमा साल्ट ट्रेडिङले ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेका छन् ।
वाणिज्य विभागका अनुसार काठमाण्डौ उपत्यकामा कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायत ९ ठाउँमा सहुलियत पसल हुनेछन् । त्यसैगरी, साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्ने छ भने उपत्यका बाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।
काठमाण्डौ उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहान लगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने विभागले जनाएको छ । यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाण्डौ उपत्यकामा ५ र उपत्यका बाहिर १८ वटा पसल सञ्चालन गर्नेछन् । दुग्ध विकास संस्थानले काठमाण्डौ उपत्यकामा ४ र काठमाण्डौ बाहिर ११ वटा ठाउँमा सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्