जनता टाइम्स

२२ भाद्र २०८०, शुक्रबार १२:५०

भदौ २७ देखि एचपीभी खोपको ‘डेमोस्ट्रेसन’ हुने, तोकिए यी सात अस्पताल


काठमाडौं, २२ भदौ । सरकारले आगामी २७ भदौ देखि देशका सातै प्रदेशका ठूला सरकारी अस्पतालहरुबाट पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी)को डेमोस्ट्रेसन गर्ने भएको छ । चीनबाट दुई महिना अघि ल्याइएको २० हजार भाइल खोप डेमोस्ट्रेसनका लागि सात प्रदेशका सात ठूला अस्पतालबाट १४ वर्षका किशोरीहरुलाई दिने भएको हो ।

यो खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो । सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो ।

स्वास्थ्य विभागद्धारा विहिबार पत्रकार सम्मेलन गर्दै डेमोस्ट्रेसनका लागि कोशी प्रदेशको कोशी अस्पताल विराटनगर, मधेश प्रदेशको नारायणी अस्पताल वीरगञ्ज, बागमती प्रदेशको परोपकार प्रसूति अस्पताल काठमाडौं, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगञ्ज बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पताल तोकिएको छ ।

आगामी २७ भदौका दिन स्वास्थ्य मन्त्री मोहन बस्नेतले प्रसूतिगृह अस्पतालबाट खोपको शुभारम्भ गर्ने सम्मेलनमार्फत जानकारी दिइएको छ । सोही दिनबाट यी सात वटा अस्पतालमा नमूना खोप कार्यक्रम सुरु हुने छ ।

छ महिनाको अन्तरमा दुई डोज लगाउनु पर्ने यो खोप यसपटक १४ वर्ष १ दिन देखि १४ वर्ष ११ महिना २९ भित्रका किशोरीलाई मात्रै दिईने बताइएको छ । अहिले खास डेमोस्ट्रेसन मात्रै भएपनि खास खोप कार्यक्रम अब द भ्याक्सिन एलायन्स (गाभी) बाट प्राप्त गरेपछि मात्रै हुनेछ । त्यसबेला १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुले यो खोप पाउने छन् ।

के हो एचपीभी ?

एचपीभी भनेको एक प्रकारको विषाणु हो । संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन् अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ह्युमन प्यापिलोमा भाइरस हो । पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत भन्दा बढी एचपीभीले गराउँछ ।

एचपीभीको २०० भन्दा बढी किसिमका प्रजाति हुन्छन र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यसले पाठेघरको मुखको क्यान्सरको साथै यौनांगमा आउने मुसा तथा यौनांगको क्यान्सर समेत गराउन सक्दछ ।