जनता टाइम्स

२४ भाद्र २०८०, आईतवार १३:४८

सुन तस्करीमा संलग्न बिदेसीलाई नागरिकता दिलाउने अपराधकर्ममा पनि नेतापुत्रकै संलग्न रहेको तथ्य खुल्यो


काठमाडौं, भदौ २४ । सुन तस्करीका मुख्य योजनाकार रहेका विदेशीलाई नेपाली नागरिकता दिलाउने आपराधिक धन्दामा पनि नेकपा माओवादी केन्द्रका नेताका परिवार नैसंलग्नता रहेको तथ्य खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र गृह मन्त्रालयले छुट्टाछुट्टै गरेको अनुसन्धानले यो तथ्यलाई उजार गरेको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेको तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङको नागरिकता अनुसन्धान गर्दा उनीहरुको समुहलाई नेपाली नागरिकता दिलाउने काममा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा नै मुख्यरुपमा संलग्न रहेको तथ्य प्रहरीले फेला पारेको हो ।

नेतात्रयका पुत्रहरुले दावासहित बिदेसी तस्कर समुहलाई नागरिकता दिलाउन नागरिकता फाँटका अधिकृत नै परिवर्तन गराएको तथ्यसमेत खुलेको छ । नागरिकता जारी गर्ने अघिल्लो दिन अधिकृत जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकता फाँटका प्रशासकीय अधिकृतलाई हटाएर ‘अनुकूल’ कर्मचारीलाई नयाँ नागरिकता जारी गर्ने जिम्मा दिएको भेटिएको हो । त्यसरी पठाइएका कर्मचारीमार्फत नै प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको अनुसन्धानबाट खुलेको छ ।

चिनियाँ सुन तस्करलाई फर्जी विवरणका आधारमा राष्ट्रियता ‘नेपाली’ उल्लेख गरेर जिल्ला प्रशासन कार्यालय काभ्रेले २०७४ पुस २० मा नागरिकता जारी गरेको थियो । तर त्यस्को अघिल्लो दिन काभ्रे प्रशासनले २०७४ पुस १९ मा नागरिकता फाँट हेर्ने प्रमुख प्रशासकीय अधिकृत सीताराम थापालाई नयाँ नागरिकता जारी र राहदानीसम्बन्धी कामबाट हटाएर झपेन्द्रराज खरेललाई पठाइएको थियो । त्यसको भोलिपल्टै खरेलले तस्करीमा संलग्न २ विदेशीलाई फर्जी विवरणका आधारमा नागरिकता प्रमाणपत्र दिएका हुन । त्यसबेला प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा हुनुहुन्थ्यो ।

प्रजिअ सिंखडाले नै थापालाई हटाएर खरेललाई नागरिकता फाँट र राहदानीसम्बन्धी जिम्मा दिनुभएको थियो । त्यस्कोे भोलिपल्ट पुस २० मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र अर्का एक चिनियाँ तस्करलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । खरेल हाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा सूचना तथा गुनासो सुन्ने अधिकारी (अधिकृत सातौं तह) का रूपमा कार्यरत हुनुहुन्छ ।

बिदेसी तस्कर समुहलाई नागरिकता दिने सेटिङमा काभ्रेकै तत्कालीन नासु (हाल यातायात कार्यालय काठमाडौं, ठूलो भर्याङमा अधिकृत/छैटौं तह) कार्यरत रामचन्द्र अर्याल पनि तानिनु भएको छ । नागरिकता प्रतिलिपि फाँटका अर्याललाई नागरिकता जारी गर्ने फाँटमा खरेलसँगै लगिएको थियो । फर्जी विवरणका आधारमा बनाइएका दुवै नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा ‘इन्ट्री’ गराउनु भएको थियो । उहाँ २०७३ देखि २०७५ सम्म काभ्रे प्रशासनमा रहनुभएको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार दावा र चिनियाँ गिरोहलाई नेपाली राहदानी र नागरिकता दिलाउन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाको समूहको प्रत्यक्ष संलग्नता देखिएको हो । उनीहरुले नै दावाको समुहलाई नागरिकता दिलाउन अधिकृतसमेत हेरफेर गरेको ती अधिकारीको भनाई छ ।

प्रतीक नक्कली भुटानी प्रकरणमा जोडिएपछि फरार छन । अनेरास्वबियु क्रान्तिकारीका नेतासमेत रहेका पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसँग सुन तस्करी प्रकरणमै सीआईबीले सोधपुछ गरिसकेको छ भने सुन तस्करी प्रकरणमै महराका छोरा राहुल सीआईबीको नियन्त्रणमा छन । यी तीन नेतापुत्रको चिनियाँ सुन तस्करसँग बाक्लो हिमचिम रहेको तथ्य यसअघि नै उजागर भइसकेको छ ।

तस्करी प्रकरणमै अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली नागरिकता र राहदानी लिने दावालाई पक्राउ गरिसकेको छ । नागरिकता लिने अर्का चिनियाँ फरार छन । हाल प्रहरी नियन्त्रणमा रहेका तस्करका भरिया चिनियाँ नागरिक वेन ति सुङ ली, नेङ काइ ली, सेग फा लिङले क्रमशः छिरिङ लामा, सोनाम लामा र राम लामाका नामबाट नेपाली नागरिकता लिएका थिए ।

प्रहरीलाई दिएको बयानमा दावा छिरिङ र फरार रहेका दावाजिनले आफूलाई नागरिकता र राहदानी बनेको भन्दै भारतबाट बोलाएको उल्लेख छ । तर, त्यसअघि नै दावाले निमा तामाङका नाममा ‘३०–०१–७४–११८६८’ र अर्का एक चिनियाँले पासाङ तामाङका नाममा ‘३०–०१–७४–११८६५’ नम्बरको नागरिकता लिएका थिए । त्यस दिन काभ्रे प्रशासनले खरेलको हस्ताक्षरमा ११८६० देखि ७१ सम्म ११ वटा नागरिकता जारी गरेकामा निमा र पासाङका नाममा जारी दुवै नागरिकतामा स्थायी ठेगाना नमोबुद्ध नगरपालिका–१, काभ्रे र बाबुको नाम पेमा तामाङ राखिएको छ । निमा र पासाङका नाममा सन् २०१८ जनवरी २५ (२०७४ माघ ११) मा राहदानीका लागि निवेदन दिएको देखिन्छ । निवेदन दिएकै दिन दुवैले त्यही दिन राहदानी लिएको अभिलेखमा देखिन्छ ।

पासाङको नाममा नेपाल प्रहरी र गृह मन्त्रालयका छुट्टाछुट्टै संयन्त्रले गरेको अनुसन्धानमा सुन तस्करका नाममा जारी दुईवटा नागरिकतामा स्थायी ठेगानामा पेमा तामाङ भन्ने व्यक्ति नै छैनन । नागरिकता लिँदा पेस गर्नुपर्ने बाबुको नागरिकता विवरण पनि प्रशासनको ढड्डामा संलग्न छैन । नागरिकता जारी हुनुअघि दावा र पासाङको नागरिकतामा प्रशासनबाट सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल उल्लेख छ । निमाका नाममा जारी नागरिकताको ढड्डामा सम्पर्क व्यक्ति अमला रोका मगर उल्लेख छ । अमला दावाकी पत्नी हुन ।

निमाका नाममा जारी नागरिकताको औंठाछाप हाल सीआईबीको हिरासतमा रहेका दावासँग मेल खाँदैन । तर, त्यही नागरिकताका आधारमा निमाका नाममा जारी नेपाली राहदानीको औंठाछाप र दावाको औंठाछाप एउटै देखिन्छ । दुवै राहदानीको प्रयोगशालामा परीक्षण गराउँदा काभ्रेमा जारी नागरिकताको औंठाछाप दावासँग मेल खाएको छैन । तर राहदानीमा दुवै औंठाछाप एकै किसिमको देखिएकाले नागरिकता जारी गर्दा सुन तस्कर उपस्थित नभई प्रशासनले नागरिकता जारी गरेको देखिएको छ ।

हङकङबाट ब्रेक सुमा लुकाएर ल्याएको ६१ केजी सुन प्रकरणमा पक्राउ परेपछि दावाले कसरी नेपाललाई सेल्टर बनाएर सुन तस्करी गरिरहेका छन् भन्ने तथ्य सतहमा आएको थियो । त्यसपछि गृह मन्त्रालयले सुन तस्करले नेपाली नागरिकता लिएको प्रकरणमा छानबिन गर्न उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले पनि फर्जी विवरणका आधारमा दुई तस्करलाई काभ्रे प्रशासनले नागरिकता जारी गरेको भन्दै तत्कालीन प्रशासकीय अधिकृत (हाल सातौं तह) खरेल र नासु (हाल छैटौं तह/अधिकृत) अर्याललाई अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको छ ।