धनकुटा, भदौ २३ । सरकारी निकाय कसरी राज्यकोषमा ब्रम्हलुट मच्चाउँछन भन्ने गतिलो प्रमाण धनकुटाको एक सरकारी कार्यालयले दिएको छ । बैंक खातामा रहेको ७८ रुपैयाँ मिलाउन सो कार्यालयले राज्यकोषको २३ हजार रुपैयाँ खर्च गरेको हो ।
खातामा रहेको रकम शून्य गराउन कार्यालयले कर्मचारीलाई जहाज चढाएर दैनिक भत्तासमेत दिएर मन्त्रालय पठाउँदा त्यति खर्च भएको हो । तत्कालीन पशु सेवा कार्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक धनकुटाको खातामा ७८ रुपैयाँ बाँकी थियो । नयाँ संरचनामा गएपछि गत मंसिरदेखि उक्त कार्यालयको नाम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रमा परिणत भयो ।
नाम परिवर्तन भएपछि पहिलेको बैंक खातामा रहेको सबै रकम शून्य भए मात्र बैंक खाता सञ्चालन गरिने कोष तथा लेखा नियन्त्रण कार्यालयबाट दबाब आएपछि कार्यालयले कर्मचारीलाई काठमाडौं पठाएको हो । खातामा रहेको रकम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा विभागबाट सहज रूपमा मिलाउन ध्यान नदिंदा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अधिकृतस्तरको एक कर्मचारीलाई खटाएको होे । गत असार अन्तिम साता कोष तथा लेखा नियन्त्रण कार्यालयले केन्द्रको खातामा ७८ रुपैयाँ रहेको थाहा पाएपछि तत्काल शून्य गर्न दबाब दिएको पशुविज्ञ केन्द्रका प्रमुख डा. शिवजीप्रसाद दास बताउनु हुन्छ ।
‘कार्यालयको बैंक खाता नै रोक्का हुने भएपछि हतारमा मन्त्रालयमा कर्मचारी पठाउनुपरेको हो, ७८ रुपैयाँका लागि प्लेन भाडा र डिए (दैनिक भत्ता) खर्चिंदा २३ हजार रुपैयाँ खर्च पो भयो ,’ दासले भन्नुभयो । पशुविज्ञ केन्द्रले शाखा अधिकृत दुर्गा सुवेदीलाई नयाँ आर्थिक वर्ष सुरु हुने तीन दिनअघि हतारमा खटाएको थियो । हतार गरेर जानुपर्दा काठमाडौं जाँदा ५ हजार २ सय र फर्कंदा ७ हजार ५ सय रुपैयाँको जहाज भाडा, दैनिक १६ सयको दरले भत्ता, गाडी तथा खाना लगायतको जम्मा २३ हजार खर्च भएको हो ।
लगातारको वर्षाका कारण पहिरो जाँदा राजमार्ग बन्द भएको र समय छोटो भएकाले हतारमा प्लेनको विकल्प नै नभएको शाखा अधिकृत सुवेदीले बताउनु भयो । कार्यालयको नाममा रहेको बैंक खातामा पशुसम्बन्धी घुम्ती कोषको रकम ७८ रुपैयाँ बाँकी रहेको उहाँको भनाई छ । रकम थोरै भए पनि मन्त्रालयले मात्र मिलाउन सक्ने भएकाले धाउन बाध्य भएको सो कार्यालयले जनाएको छ ।
मंसिरमा परिवर्तन भएको कार्यालयले ७ महिनाको अवधिभित्र खाता शून्य गर्नुपर्नेमा ढिलासुस्ती गर्दा बढी खर्च व्यहोर्नुपरेको कोष तथा लेखा नियन्त्रक नरेश खरेल बताउनु हुन्छ । पशुसम्बन्धी घुम्ती कोषको रकम भएकाले कार्यालयको अर्को खातामा कोलेनिकाले उक्त ७८ रुपैयाँ सार्न नसकिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्