जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार १३:३८

गाउँपालिकाका अध्यक्ष नै प्रहरी हिरासतमा


प्यूठान, भदौ २३ । गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णुकुमार गिरीलाई बहुविवाहको मुद्दाले प्रहरी हिरासत पुर्याएको छ। पत्नीले गिरीबिरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेपछि आइतबार साँझ उनी आफैं जिल्ला प्रहरी कार्यालय प्यूठान पुगेका हुन्।

भदौ १० गते पत्नी सीता केसीले गिरीविरुद्ध मुद्दा दायर गरेकी थिइन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्रबहादुर कार्कीका अनुसार गाउँपालिका अध्यक्ष गिरीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । ‘आइतबार साँझ हाम्रो सम्पर्कमा आउनुभयो, अनुसन्धान सुरु भएको छ। निष्कर्षमा नपुग्दासम्म हिरासतमा राख्छौँ,’ डिएसपी कार्कीले भन्नुभयो ।

गिरीले यसअघि सम्बन्ध विच्छेदको मुद्दा हारेका थिए। गिरी दम्पत्ति १० वर्षदेखि अलग बस्दै आएका छन्। अध्यक्ष गिरीले भने आफूले दोस्रो विवाह नगरेको दाबी गरेका छन्। यसअघि सम्बन्ध विच्छेदको मुद्दा आफूले हारेको प्रतिक्रिया दिँदै गिरीले सम्पत्तीको विषयमा मुद्दा चलिरहेको बताए । पत्नी केसी दुई छोरीसँगै विजुवारमा कोठा भाडामा बस्दै आएकी छन्। उनले दोस्रो विवाह गरेको प्रमाणको आधारम मुद्दा दायर गरेको बताएकी छन ।

गिरीले बहुविवाह गरेको प्रमाणित भएमा मुलुकी अपराध संहिताको दफा १७५ को उपदफा ४ बमोजिम सजाय भोग्नुपर्ने अधिवक्ता डा। शिवराज पण्डितले बताए। दफा १७५ को उपदफा ४ मा बहुविवाह प्रमाणित १ वर्षदेखि ५ वर्षसम्म कैद र दश हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।