जनता टाइम्स

२९ भाद्र २०८०, शुक्रबार ०७:४८

हेटौंडाका ७८ चिकित्सकले दिए सामूहिक राजीनामा


काठमाडौं, भदौ २९ । बिरामीका आफन्तबाटै असुरक्षित रहेको भन्दै मकवानपुरको हेटौडाका विभिन्न अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।

बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन्। हेटौंडा अस्पतालका सबै ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका हुन्। उनीहरुले शुक्रबारदेखि जिल्लामा आकस्मिकबाहेक सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

बुधबार बिहान हेटौंडा–१ भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो। आक्रमणमा परी एनेस्थेसिया डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापा घाइते हुनुभएको छ। बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ ।

थापा उपचारका लागि काठमाडौं आउनुभएको छ ।डेंगुका कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन्। साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भोलिपल्ट चितवन रेफर गरिएको थियो।

प्रधानलाई दोस्रो पटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापका पनि बिरामी थिए । उनको साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार क्रममा निधन भएको थियो। कुटपिटमा संलग्न चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।