काठमाडौं, २९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बसाई सराईका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूएनएफपीएले आज राजधानीमा आयोजना गरेको जनसंख्या तथा विकास (राष्ट्रिय आईसीपीडीका प्रतिवद्वता अगाडि बढाउन) मा बोल्दै मन्त्री बस्नेतले बसाई सराईका कारण सहरी क्षेत्रका स्वास्थ्य संस्थामा विरामीको भिडभाड तर ग्रामिण बस्तीका स्वास्थ्य संस्था सुनसान हुने अवस्था आउन थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनसंख्याको सन्तुलन नमिलेपछि अहिले ग्रामिण वस्तीका स्वास्थ्य संस्था रित्तिने अवस्था छ भने अर्कोतिर शहरीक्षेत्रमा विरामीको भार थेग्नै नसक्ने समस्या देखिएको छ । त्यसैले बसाई सराईलाई बेलैमा व्यवस्थित गर्नै पर्ने छ।’ जनसंख्याको सही ढंगले व्यवस्थापन गर्न नसकिए हामीले चाहे जस्तो र खोजेको जस्तो विकास संभव नभएकाले यसका बिषयमा गहन ढंगले योजना बनाउनु पर्ने आवश्यकता रहेको मन्त्री बस्नेतले बताउनुभयो ।
जनसंख्या र विकासबिचको खाडल पहिचान गरि कार्ययोजना बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या महासाखाका सहसचिव रमेशकुमार केसीले जनसंख्या र विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपालको जनसंख्याको ६७ प्रतिसत जनसंख्या आर्थिक रुपले सक्रिय उमेर समूहभित्र रहेकोले त्यसको लाभ राज्यले लिनु पर्ने बताउनुभयो ।
नेपालमा जनसंख्या वृद्घिदर पछिल्ला वर्षमा घट्दै गइरहेको भएपनि मातृमृत्युको अवस्था अझै विकराल रहेको केसीले जानकारी दिनुभयो । उहाँले थप्नुभयो,‘अहिले पनि नेपालमा मातृमृत्यु दर प्रति लाखमा १५१ जना कायम रहनु चुनौतिको बिषय हो ।’ यूएनएफपीएकी नेपाल प्रतिनिधि ओन यङ हङले नेपालमा प्रत्येक दिन २ जना महिलाको मृत्यु प्रसूतिका कारण हुने गरेको तथ्यांक प्रस्तुत गर्दै बाल विवाह, महिला हिंसा जस्ता विषयमा सुधार नगरेसम्म महिलाको स्वास्थ्य अवस्थामा सुधार गर्न नसकिने अवस्था रहेको बताउनुभयो ।
सन् १९९४ मा कायरोमा भएको जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका दूरदर्शी लक्ष्यहरु र २०१९ मा नैरोवीमा पुन जाहेर गरिएका प्रतिवद्वताहरु पूरा गर्नका लागि नेपाल सरकारले गरेका प्रयास उल्लेखनिय रहेको उहाँले बताउनुभयो । सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेल र देवकुमारी गुरागाईले जनसंख्याको व्यवस्थापन गरेर मात्र सहज रुपमा र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सक्नेमा जोड दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्