जनता टाइम्स

३० भाद्र २०८०, शनिबार १८:०४

दुई छात्राले दिए आश्रमका बालबालिकालाई जुत्ता र खेल सामग्री


काठमाण्डौं, ३० भदौ । ललितपुरका दुई छात्राले काठमाण्डौंको तारकेश्वर नगरपालिका–३ का ठूलागाउँ आँपचौरमा सञ्चालित बालगृहका बालबालिकालाई जुत्ता र खेलकुद सामग्री वितरण गरेका छन् । ललितपुरको युलेन्स स्कुलमा कक्षा–१० मा अध्ययनरत नमामी आचार्य र उहाँकी साथी दिव्यांशी जोशीले शनिबार मातृ नेपाल बालगृहका ४६ बालबालिकालाई जुत्ता र खेल सामग्री वितरण गर्नुभएको हो ।

आफ्नै विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, विद्यालयको खेलकुद विभाग, रोटरी क्लब अफ नागार्जुन र नेपाल जुत्ता फैक्टरीको सहयोगमा सामग्री संकलन गरिएको आचार्यले बताउनुभयो । नमामीले आफू र साथी दिव्यांशी छुट्टीका दिन आफ्ना बाबु व्यवसायी सुदीप आचार्यसँग घुम्न आउँदा आश्रम देख्नुभएको थियो ।

एक महिनायता हरेक सार्वजनिक बिदाका दिन नमामी र उहाँको साथीले आश्रममा रहेका बालबालिकालाई अंग्रेजी भाषा सिकाउने गर्नुभएको छ । सिन्धुपाल्चोक मेलम्चीका नरबहादुर राउतको अभिभावकत्वमा सञ्चालित आश्रममा विभिन्न उमेर समूहका गरी ४६ बालबालिका छन् । उहाँहरु स्थानीय नागार्जुन ठूलागाँउ माविमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्यनरत हुनुहुन्छ ।

अघिल्लो शनिबार आश्रम नजिकै खुला चौउरमा विद्यार्थीले कोही खाली खुट्टा र कोही चप्पल लगाएर फुटबल खेलिरहेको देखेपछि आफूले जुत्ता संकलन गरेर वितरण गर्ने योजना बनाएको नमामीले बताउनुभयो । ‘हामी आउँदा उनीहरु फुटबल खेलिरहेका थिए । कसैको खुट्टा खाली थियो । कोही चप्पल लगाएर खेलिरहेका’, नमामीले  भन्नुभयो, ‘कतिबेला त खाली बल हिर्काउँदा ठोक्किएर घाउ हुने रहेछ । यो देखेर मलाई यिनीहरुलाई जुत्ताको जरुरी रहेछ भन्ने लाग्यो ।’

नमामी र दिव्यांशीले आश्रममा रहेका सबैलाई एक/एक जोर गरी ४६ जोर र फुटबल खेलाडी ११ जनाका लागि छुट्टै स्पोर्टस् सुज, दुईवटा फुटबल, जर्सी र प्याड दिनुभयो । ‘अब फुटबल खेल्दा उनीहरुको खुट्टामा घाउ हुँदैन र दुखेर मुर्छा पर्नु पर्दैनन् होला’, सामग्री वितरण गर्नुअघि मन्तव्य दिने क्रममा उहाँले भन्नुभयो । बिना प्रशिक्षक र पूर्वाधारको अभावमा पनि आश्रमका विद्यार्थीले व्यवसायिक फुटबल टिमले जस्तै प्रदर्शन गरेबाट आफू प्रभावित भएको उहाँको भनाइ थियो ।

‘तालिम र पूर्वाधार भयो भने यिनीहरु राष्ट्रिय टिम र अरु क्लबमा आवद्ध भएर व्यवसायिक खेल जीवन अगाडि बढाउन सक्छन् भन्ने मेले देखें’, उहाँ भन्नुभयो । नमामीले आफूहरुले निकट भविष्यमा आश्रमका विदार्थीका लागि पुस्तकालय स्थापना गरिदिने योजना बनाएको पनि सुनाउनुभयो ।

उहाँहरुले जुत्ता, मोजा, फुटबल र जर्सी गरी करिब एक एक लाख रुपैयाँभन्दा बढीको सामग्री हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नमामीका पिता एवं डिश होम नेटवर्कका प्रबन्ध निर्देशक सुदीप अचार्य, आमा रास्वपा नेतृ लीमा अधिकारी, रोटरी क्लब अफ नागार्जुनका अध्यक्ष प्रकाश डोटेल, नागार्जुन ठूलागाँउ माविमा प्रधानाध्यापक अर्जुन फुयाँल, शिक्षक शिवप्रसाद फुयाँल र आश्रमका सञ्चालक राउतलगायत सहभागी हुनुहुन्थ्यो ।