जनता टाइम्स

३१ भाद्र २०८०, आईतवार १०:३२

६१ किलो सुन तस्करी प्रकरणमा अभियुक्तबिरुद्ध अदालतमा मुद्दा दर्ता गर्दै सरकारी वकिलको कार्यालय


काठमाडौं, ३१ भदौ । झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध काठमाण्डौ जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्दैछ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गर्न लागेको हो। सीआईबीले झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

सीआईबीले कारबाहीका लागि सिफारिस गरिएकामध्ये १८ जना फरार छन् । तस्करहरुविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैंक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउनुपर्ने सीआईबीको सुझाव छ । अहिलेसम्म पक्राउ परेकामध्ये ९ जना विदेशी नागरिक छन् ।

सीआईबीले गएको बुधवार आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।सीआईबीले पछिल्लो ११ महिनामा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ सय ६३ किलो सुन तस्करी गरी नेपाल ल्याइएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ । सीआईबीले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने जनाएको छ।