जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार ०८:४२

१९ वर्षीया किशोरीमाथि १० जनाको समूहबाट सामूहिक बलात्कार


नवलपुर, भदौ २४ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवानामा कार्यालय हिँडेकी १९ वर्षीया किशोरीमाथि १० जनाको समूहले सामूहिक बलात्कार गरेको छ । एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे घटना भएको हो ।

मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेका वेला सो समूहले नियन्त्रणमा लिएर कुटपिट गरी किशोरीलाई नजिकै उखुबारीमा लगेर १० जनाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनास्थल भारतको सीमानजिकै पर्छ ।

घटनाको एक घन्टापछि पीडितहरू इलाका प्रहरी कार्यालय बेलटारी पुगेका थिए । उजुरीलगत्तै पीडित किशोरीलाई अस्पताल लगेर प्रहरी अभियुक्तहरूको खोजीमा लागेको थियो । घटनामा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको, एकजना भने अझै फरार रहेको इप्रका बेलटारीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रीमलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बलात्कारमा संलग्नहरू १९ देखि ४० वर्षसम्मका छन् । १९ वर्षका अमरनाथ भेडियार र पिन्टु राजभर, २२ वर्षका सन्दीप यादव, शिवराज राजभर र राजु भेसहर तथा २५ वर्षीय मनमोहन राजभर, ३२ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भीमललवा मुसहर र ४० वर्षीय नेत्र चौधरी पक्राउ परेका हुन् । उनीहरू सबै सुस्ता–३ कै भएको प्रहरीले जनाएको छ । उनीहरूलाई जबर्जस्ती करणी मुद्दामा सोमबार अदालतबाट म्याद थपेर हिरासतमा राखिएको छ ।