जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार १०:५९

प्रोटोकल मिचिने भएपछि प्रचण्डले चिनियाँ विदेशमन्त्रीसँग होटल मेरियटमा भेटे


काठमाडौं, भदौ २४

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले दुई पूर्वप्रधानमन्त्रीसँग होटल मेरियटमा भेटवार्ता गरेका छन् । यसअघि भारतिय विदेशमन्त्री आउँदा उनि बसेको होटल नगएका नेकपाका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग तटस्थ स्थानमा भेटवार्ता गरेका हुन् ।

विदेशमन्त्री यी भने होटल सोल्टीमा बस्दै आएका थिए । मेरियटमै उनले नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् । प्रचण्डसँगको भेटमा दुई देशको सम्वन्ध, चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमण, दुई पार्टीको सम्वन्ध र सहयोगका विषयमा छलफल भएको थियो । भेटमा दुई देशबीच सदियौंदेखि रहँदै आएको सम्बन्ध अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको अध्यक्ष प्रचण्डले पत्रकारहरूसँग बताउनु भयो । प्रचण्डलाई भेट्नु अघि देउवासँग भेटवार्ता गरेका थिए ।

तीन दिनका लागि नेपाल भ्रमणमा आउनु भएका यीले स्वदेश फर्कनु अघि नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्दै हुनुहुन्छ । उहाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट गरिसक्नु भएको छ । सोमवार नेपाल चीनबीच तीन सम्झौतामा हस्ताक्षर समेत भएको थियो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल र चीनको तर्फबाट यी नेतृत्वको प्रतिनिधिमण्डलबीच वृहत छलफल भएको थियो । यी आजै पौने एक बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।