जनता टाइम्स

४ आश्विन २०८०, बिहीबार १७:२५

शिक्षकका संवैधानिक माग सरकारले सुन्नुपर्छ : नैनसिंह महर


काठमाडौं, ४ असोज । दुई दिनदेखि काठमाडौंमा शिक्षकहरूले चर्काएको आन्दोलनको विषय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश गरेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षकहरूका मागको सुनुवाइमा सरकार गम्भी हुनुपर्ने बताउनुभएको छ ।

‘शिक्षकहरूको आन्दोलनप्रति हामीले ख्याल गर्नुपर्छ । विद्यालय शिक्षा विधेयकबारे प्रश्न उठेका छन् । सरकारले यअसघि कबुल गरेका केही विषय विधेयकमा समावेश छैनन् । शिक्षकहरूले संविधानबाहिरका कुरा उठाएका छैनन् । संविधानलाई क्रस गर्ने गरी माग राखेका छैनन् । यस्तोमा कांग्रेसले रमिता हेरेर बस्न मिल्दैन,’ उहाँले भन्नुभयो ।

महरले दुई दिनदेखि आन्दोलन भइरहेको बताउँदै यसबारे सत्तामा रहेका कारण कांग्रेसले गम्भीर भएर सुनुवाइको पहल गर्नुपर्ने बताउनुभएको छ । त्यसैगरी अर्की केन्द्रीय सदस्य प्रतिमा गौतमले आन्दोलित शिक्षकहरुका माग अहिलेको सरकारले सुनेर पूरा गरिदिनुपर्ने बताउनुभयो । अहिलेको निराशालाई कसरी चिरेर अघि बढ्ने भन्ने योजना कांग्रेसलाई चाहिएको पनि उनले बैठकमा बताउनुभयो ।