काठमाडौं, ४ असोज । अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई काठमाडौंको टोखा नगरपालिका–६ बस्ने २८ वर्षीया ददिकी शेर्पा (राई) छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले फेसबुक, ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सञ्जालको माध्यमबाट साथी बनाउने र उनीहरुको जिमेल आईडीमा फीफीए एमको यूआरएल लिंक पठाउने गरेकी थिइन् । त्यसपछि उक्त एप इन्टल गर्न लगाउने र बैंक खाता लगायतको बायोडाटा विवरण अपडेट गर्न लगाउने गरेकी थिइन्।
त्यसपछि उक्त एपबाट हुने आर्थिक कारोबार नेपालमा कानुन बमोजिम रहेको भनी विश्वास दिलाउने र अनलाइन जुवा (गेम्ब्लिङ) एप फीफीए एपबाट बेटिङ खेलाई ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनले विभिन्न देशहरुमा हुने फुटबल तथा क्रिकेटहरुको अनलाइन बेटिङ खेल्नका लागि रकम डिपोजिट गर्न लगाउने र डिपोजिट गरेको ९० मिनेट भित्र लगानी गरेको रकममा १।४८ प्रतिशतका दरले फाइदा हुने बताउने गरेकी थिइन् । यसरी झुटा आश्वासन दिएर रकम जम्मा गर्न लगाएर उनले ११ लाख २७ हजार रुपैयाँ ठगी गरिसकेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्