जनता टाइम्स

४ आश्विन २०८०, बिहीबार १८:४६

सरकार र आन्दोलनरत शिक्षकलाई बिष्णु पौडेलको सुझाव : समाधान खोज्ने संकल्पका साथ अबिलम्ब बार्ता होस


काठमाडौं, असोज ४ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले समाधान खोज्ने संकल्पसहित बार्तामा बस्न सरकार र आन्दोलनरत शिक्षकहरुलाई सुझाव दिनुभएको छ ।

पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष पौडेलले आज सामाजिक सञ्जालमार्फत यस्तो अपिल गर्नुभएको हो । सहमति र समाधान खोज्ने संकल्पका साथ सरकार र आन्दोलनका प्रतिनिधिबीच अबिलम्ब बार्ता होस,’ पौडेलले भन्नुभएको छ ।

उहाँले सरकारमाथि गम्भीर प्रश्न पनि उठाउनु भएको छ । ‘सरकारले आन्दोलनरत शिक्षक समुदायसँग सार्थक सम्वाद गर्ने र संवादबाट समाधान खोज्ने हैसियत गुमाएकै हो ? बार्ताका लागि सरकारले गरेको आह्वान अरण्य रोदन सावित भएको छ । कानून निर्माण गर्नुपूर्व सम्बन्धित समुदायलाई बिश्वासमा लिने न्यूनतम बर्तब्य निर्वाह नगर्दा हुने यस्तै नै हो,’ प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका एमाले उपाध्यक्ष पौडेलले भन्नुभएको छ ।