जनता टाइम्स

५ आश्विन २०८०, शुक्रबार १८:३२

नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ


वराहक्षेत्र, ५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार रुपैयाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । बिहिबार प्रहरीले सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिका–५ घर भएका विवेक राईलाई इटहरी–६ बाट र सङ्खुवासभाकै मकालु नगरपालिका–६ का अजय राईलाई इटहरी–३ बाट विशेष सूचनाको आधारमा १ हजार दरको १५ सय ८७ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको हो ।

आज इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी एक हजार दरका १५ लाख ८७ हजार रुपियाँ सहित विवेक राई र अजय राईलाई सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट नोकिया कम्पनीको सादा मोबाइल एक थान, ओप्पो कम्पनीको स्क्रिन टच मोबाइल एक थान र भिभो कम्पनीको स्क्रिन टच मोबाइल एक थान पनि बरामद गरेको छ ।

नियन्त्रणमा रहेका विवेक र अजय राईलाई थप अनुसन्धानको लागि आजै जिल्ला अदालत सुनसरीबाट मुद्रा सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सुनसरीमा पछिल्लो समय नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय बनेको छ । एक महिना अगाडी सुनसरीको रामधुनी नगरपालिकाबाट–१७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले रामधुनी नगरपालिका वडा नम्वर–१ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको थियो ।