काठमाडौं, भदौ २४ । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेशतर्फ प्रस्थान गर्नुभएको छ । चिनिया बिदेशमन्त्री वाङ आफ्नो विशेष विमानबाट आज अपरान्ह स्वदेश फर्कनुभएको हो ।
उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गर्नुभयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री वाङले नेपाल बसाईका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटबार्ता गर्नुभयो भने परराष्ट्र मन्त्रीस्तरीय बैठक भयो ।
उहाँले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटबार्ता गर्नुभयो । सवैजसो भेटमा नेपाली पक्षले चिनिया राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न आतुर रहेको बताउनु भयो भने बिदेशमन्त्री वाङले राष्ट्रपति सीको नेपाल भ्रमण हुने संकेत दिनुभएको छ । ‘चिनियाँ बिदेशमन्त्री वाङले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुने सन्देश दिनुभएको छ,’ भेटपछि नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले जनताटाइम्ससँग भने ।
नेपाल बसाइको क्रममा परराष्ट्रमन्त्री नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्