जनता टाइम्स

६ आश्विन २०८०, शनिबार १४:२७

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाद्वारा निर्माणाधीन सुस्ता झुलुङ्गे पुल अनुगमन


नवलपरासी, ६ असोज । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा निर्माणाधीन झोलुङ्गे पुलको आज अनुगमन गर्नुभएको छ । पुल नहुँदा नारायणी नदीपारिका सुस्तावासीलाई आफ्नै भूमि आउजाउ गर्न निकै कठिन छ । अनुगमनपछि अध्यक्ष तिमल्सिनाले पुल निर्माण चाँडै सम्पन्न गर्न आफूले पहल गर्ने बताउनुभयो ।

‘आफ्नै भूमि आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटाउन पुल निर्माण छिटो हुनुपर्छ’, अध्यक्ष तिमल्सिनाले भन्नुभयो,‘यो पुल सुस्तावासी सपना हो ।’

विसं २०७५ मा आफू सुस्ता आउँदा पुल निर्माणको भौतिक प्रगति नभएको देखिएको बताउँदै अध्यक्ष तिमल्सिनाले अब भने पुल चाँडै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । तत्कालीन समयमा पुलको योजना अघि बढाउन राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाको पनि भूमिका रहेको सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल) सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय, सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष रामप्रसाद पाण्डे, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता थियो । एक हजार पाँच सय ७१ मिटर लम्बाइ र एक दशमलव ६ मिटर फराकिलो पुलको २९ करोड ४० लाखमा ठेक्का सम्झौता भएको थियो ।