काठमाडौं, भदौ २५
एकताका बाँकी काम टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे सचिवालय बैठक बोलाइएको हो ।
प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्य उपचार गरेर फर्किएपछि पहिलो पटक बैठक बस्न लागेको हो । नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले पार्टी एकतालाई चाडो टुंगोमा पुर्याउनुपर्ने भन्दै आउने वित्तिकैबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलसँग निरन्तर छलफल गर्दै आउनु भएको छ । नेकपाको एकताको काम अधिकांश टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै रहेका छन्।
यसअघि प्रधानमन्त्री ओली सिङ्गापुरमा रहेका अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा गत भदौ ९ गते सचिवालय बैठक बसेको थियो। दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री ओलीसहितको बैठकले गरेका जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको थियो। यसैगरी सोही बैठकले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णयसमेत गरेको थियो।
प्रतिक्रिया दिनुहोस्