जनता टाइम्स

२५ भाद्र २०७६, बुधबार ०९:३४

टिचिङ अस्पतालमा प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण : अवस्था सामान्य रहेको चिकित्सकको जनाउ


काठमाडौं, भदौ २५

नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज विहान टिचिङ अस्पताल पुग्नु भएको छ । सिंगापुरमा मृगौलाको उपचार गरेर फर्कनु भएका उहा त्यसैको नियमित परिक्षणका लागि अस्पताल जानु भएको हो ।

प्रधानमन्त्री ओली बुधबार बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुग्नु भएको थियो । ‘नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री अस्पताल जानु भएको हो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भन्नुभयो,‘अहिले १० बजेदेखि बालुवाटारमा बैठक छ, उहा फर्किने बेला भयो ।’

उहाका अनुसार नियमित स्वास्थ्य जाँच गर्न मात्र जानु भएको हो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक उत्तम श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री ओलीको स्वास्थ जाँच गरेको छ । परिक्षणपछि चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

मुटुरोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार स्वास्थ्य जाँचका क्रममा सिंगापुरमा मिर्गौलाको प्लाज्मा फेरेसिस गर्दा शरीरमा राखिएको पाइप झिकिएको छ। ‘शरीरबाट पाइप झिकिएको छ, उहाले भन्नुभयो, ‘प्रधानमन्त्री अब तन्दुरुस्त भएर फर्किनुभएको छ ।’ यसअघि प्रधानमन्त्रीको सिंगापुरमा १४ दिनसम्म मिर्गौलाको उपचार गरिएको थियो।