जनता टाइम्स

१३ आश्विन २०८०, शनिबार ०८:३६

१५ दिनपछि आज स्वदेश फर्कदै प्रधानमन्त्री


काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै हुनुहुन्छ ।

अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लाग्नुभएको हो ।

हिजो छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गरे पछि प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीको सहभागीता रहेको थियो । सो अघि प्रधानमन्त्री प्रचण्डले तिब्बतस्थित मानसरोवर र कैलास पर्बत दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड हिजो मात्रै ल्हासा विमानस्थलबाट छेन्दु पुग्नुभएको हो ।

गत भदौं २० गते राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका जानुभएका प्रधानमन्त्री प्रचण्ड गत शनिवार त्यताबाट सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कनुभएको हो । एसियाली खेलकुदको उदघाटनमा सहभागीसमेत हुनुभएका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गर्नुभएको थियो भने चिनियाँ समकक्षीसँग बेइजिङमा बार्ता गर्नुभएको थियो ।

उहाँ गत भदौं ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो , त्यसको १५ दिन पछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लाग्नुभएको हो ।