जनता टाइम्स

२५ भाद्र २०७६, बुधबार १५:२९

निम्न आए भएका नागरिकलाई सहुलियतमा एलपी ग्यास


काठमाडौं, भदौ २५ । सरकारले एलपी ग्याँस पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने गृहकार्य सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका अनुसार निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखी सरकारले एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउन लागेको हो ।

आज आयोजित नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री यादवले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको बताउनु भयो । ‘सम्पन्न नागरिकलाई एलपी ग्याँसको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको छ, चाँडै टुंगो लाग्छ,’ मन्त्री यादवले भन्नुभयो ।

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताउनुभयो । उहाँले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको ठोकुवासमेत गर्नुभयो ।