जनता टाइम्स

२५ भाद्र २०७६, बुधबार १७:०१

पूर्वाधार सम्मेलनमा पर्यटनमन्त्री योगेश भट्टराईले दिए अबको ५ वर्षभित्र निजगढ बिमानस्थल तयार हुने आधार


काठमाडौं, भदौ २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको जनाउ दिनुभएको छ । काठमाडौंमा जारी नेपाल पूर्वाधार सम्मेलनमा पर्यटनमन्त्री भट्टराईले सो जानकारी दिनुभएको हो ।

पर्यटनमन्त्री भट्टराईका अनुसार नेपालका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकै ठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या छैन । नेपालमा हवाई यात्रुहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको भन्दै मन्त्री भट्टराईले निकट भविष्यमै दुई ओटा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको जानकारी दिनुभयो । उहाँले अबको ५ वर्षभित्र कुनै पनि हालतमा निजगढ अन्तरराष्ट्रिय विमानस्थल तयार हुने भन्दै यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको बताउनुभयो । ‘निजगढ अन्तरराष्ट्रिय विमानस्थलका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको छ, अबको ५ वर्षभित्र कुनै पनि हालतमा निजगढ बिमानस्थल तयार हुन्छ,’ मन्त्री भट्टराईले भन्नुभयो ।

उत्तर–दक्षिण दुवै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नति गर्ने र नयाँ नाका खोल्ने तथा पूर्व–पश्चिम जोड्ने चार ओटा राजमार्गहरुको निर्माणअघि बढाएकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने ठोकुवा पनि उहाँले गर्नुभयो । त्यस्तै युरोपेली संघले हवाई सेवाका लागि नेपाललाई कालो सूचीमा राखेको घटनाप्रति दुःख व्यक्त गर्दै चाँडै नै यो समस्या सुल्झने अपेक्षा पनि उहाँले राख्नुभयो । युरोपेली संघसँग निरन्तर वार्ताअघि बढाइएको र चाँडै नै निष्कर्शमा पुगिने मन्त्री भट्टराईको भनाई थियो ।