जनता टाइम्स

२५ भाद्र २०७६, बुधबार १८:१३

एकताको साटो उपनिर्वाचन केन्द्रित बन्यो नेकपाको सचिवालय बैठक : आयो यस्तो निर्णय


काठमाडौं, भदौ २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो ।

पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने एजेण्डासहित बसेको बैठकमा निर्वाचन आयोगमा दल दर्तातर्फ केन्द्रित भएपछि अर्काे बैठकका लागि एकताको एजेण्डा सारिएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार बैठकले निर्वाचन आयोगले पुनः दल दर्ताका लागि जारी गरेको सूचनाको आधारमा सवै अद्यावधिक गरी आयोगमा दल दर्ताका लागि महासचिव बिष्णु पौडेललाई जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गराएर पर्कनु भएपछिको यो पहिलो सचिवालय बैठक हो । ओली सिंगापुर जानुभएपछि अध्यक्ष प्रचण्डले एक पटक बैठक बोलाउनु भएको थियो । सो बैठकले अनुशासन कायम गराउने सवालमा महत्वपुर्ण निर्णय गरेको छ । आजको बैठकमा केन्द्रीय आयोग, प्रवास कमिटी, केन्द्रीय बिभागका सदस्यहरुसहित एकताको बाँकी कामलाई पुर्णता दिने एजेण्डा रहेपनि अर्काे बैठकका लागि सारिएको छ ।

‘एकतालाई पुर्णता दिने एजेण्डा अर्काे बैठकका लागि सारिउको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभयो । आजको बैठकबाट एकताको बाँकी काम टुंगो लगाउने गृहकार्यअनुरुप सिंगापुरबाट फर्किएपछि अर्का अध्यक्षद्वय ओली र प्रचण्डबीच लामो छलफलसमेत भएको थियो । प्रधानमन्त्री ओली फर्किएपछि सांगठानिक एकताका बाँकी काम टुंगो लगाउन दुई अध्यक्षले गृहकार्य पूरा गरेपछि आजको सचिवालय बैठक बोलाइए पनि उपनिर्वाचन केन्द्रित बनेको हो ।

नेकपामा आयोग, जेष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका विभिन्न निकायको एकता टुंगिन बाँकी छ । केन्द्रीय बिभागहरुको प्रमुख–उपप्रमुख तोके पनि विभागले पनि पूर्णता पाउन सकेका छैनन । अव बस्ने बैठकले एकताको बाँकी काम टुंग्याउने योजना रहेको छ ।