जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार १२:४७

नेकपाले छान्यो लमजुङको आठवटै स्थानीय हतमा नेतृत्व, यी हुन अध्यक्ष र सचिव


आठ पालिकामध्ये पूर्वएमालेबाट ५ जना र पूर्वमाओवादीबाट ५ अध्यक्ष

लमजुङ, बैशाख २१

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लमजुङको आठ वटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ । लमजुङका आठवटै स्थानीय तहमा पूर्वएमाले र माओवादीबाट मिलाएर नेकपाले पार्टीको अध्यक्ष र सचिव चयन गरेको हो । आठ पालिकामध्ये पूर्वएमालेबाट ५ जना अध्यक्ष र ४ जना सचिव तथा पूर्व माओवादीबाट तीनवटा पालिकामा अध्यक्ष र ४ वटामा सचिव चयन गरिएको छ ।

जसअनुसार बेसीशहर नगरपालिकामा राजकुमार विष्टले पार्टी प्रमुखको जिम्मेवारी पाउनु भएको छ । उहाँ पूर्वएमालेबाट चयन हुनुभएको हो । पूर्व माओवादीबाट सचिवको जिम्मेवारी शोभा थापालाई दिइएको छ । यस्तै सुन्दरबजार नगरपालिकामा पूर्वएमालेबाटै भीमबहादुर गुरुङ अध्यक्ष र पूर्वमाओवादीबाट सुनिल सुनारलाई सचिवको जिम्मेवारी दिइएको छ । मध्यनेपाल नगरपालिकामा रामचन्द्र पौडेललाई अध्यक्ष र सचिवमा अर्जुन श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । पौडेल पूर्व माओवादीबाट र श्रेष्ठ पूर्व एमालेबाट जिम्मेवारी पाउनु भएको हो ।

यसैगरी राइनास नगरपालिकाको अध्यक्षमा अविरल न्यौपाने र सचिवमा पूर्णबहादुर गुरुङले जिम्मेवारी पाउनु भएको छ । न्यौपाने पूर्वमाओवादी र गुरुङ पूर्वएमाले हुन । यसैगरी मर्स्यांदी गाउँपालिकामा पूर्वएमालेका धनसिंङ्ग तामाङ अध्यक्ष चयन हुनुभएको छ । भने दयासागर घिमिरले सचिवको जिम्मेवारी पाउनु भएको छ । घिमिरे पूर्वमाओवादी हुनुहुन्छ । दोर्दी गाउँपालिकामा युवराज अधिकारीले अध्यक्ष र सचिवको जिम्मेवारी अम्बिका मरहठ्ठालाई दिइएको छ ।

अधिकारी पूर्वमाओवादी र मरहठ्ठा पूर्वएमाले हुनुहुन्छ । यस्तै दूधपोखरी गाउँपालिकामा पूर्व माओवादीबाट सतीमाया तामाङ अध्यक्ष चयन भएकी छन् । सचिवमा धनबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ । क्व्होंलासोंथर गाउँपालिकामा नरबहादुर गुरुङले अध्यक्ष र सूर्य गुरुङले सचिवको जिम्मेवारी पाउनु भएको छ । नर पूर्वएमालेबाट र सूर्य पूर्वमाओवादीबाट छानिनु भएको हो ।