जनता टाइम्स

२५ भाद्र २०७६, बुधबार १९:४६

मदिराको नसामा प्रेमिकाकै हत्या


मोरङ, भदौ २५ । झापाको गौरादह नगरपालिका ६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चुँडालले मदिराको कारण प्रेमिकाको हत्या गरेका छन । मदिरा सेवनपछि भएको झगडाका क्रममा कुटपिट गरी चुँडालले दुई वर्षदेखि आफूसँगै राखेकी महिलाको हत्या गरेका हुन ।

महिलाको हत्यापछि फरार चुडाललाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा टोलीले मोरङको उर्लाबारीस्थित दुर्गापुरीबाट मंगलबारराति पक्राउ गरेको छ । हत्या गरिएकी अन्दाजी ३५ वर्षीया महिलाको भने अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत शनिबार बिहान रतुवामाई नगरपालिका ६ का हरिबहादुर खड्काको खाली रहेको ग्वाली घरमा शरीर भरी नलिडाम र चोटपटक रहेको अवस्थामा ती महिला अचेत अवस्थामा भेटिएकी तीमहिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याएकी उनको आइतबार राति मृत्यु भएको हो । स्थानीय बासिन्दाले दुई वर्षदेखि ती महिला पुण्यसँगै हिँड्ने गरेको र अत्यधिक मदिरा सेवन गरेर हिँड्न नसकेको भन्दै ग्वालीमा ल्याएर छाडेर चुँडालले काम गर्न जान्छु भन्दै उनी हिँडेको जानकारी प्रहरीलाई दिएका थिए । शुक्रबार राति अत्यधिक मदिरा सेवन गरेर दुवै जनाबीच झगडा भएको र त्यही क्रममा पुण्यले लात्ता र मुक्काले प्रहार गर्दा महिलाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीकाअनुसार दुई वर्षअघि झापाको दमकमा ज्याला मजदुरी गर्ने क्रममा पुण्य र ती महिलाको भेट भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार मदिरा सेवनका कारण उत्पन्न विवादपछि महिलाको ज्यानै जाने गरी कुटपिट गरेर छाडेको पाइएको छ । डीएसपी श्रेष्ठले दुई वर्षदेखि आफूसँगै राखे पनि ती पुरुषले महिलाको बारेमा थाहा नभएको बताएका छन् ।

प्रहरीकाअनुसार नाम सिर्जना पोखरेल र घर झापाको बिर्तामोड हो भनेर आफूलाई सुनाएको हत्यामा संलग्न पुण्यले बताए पनि नाम र ठेगाना यकिन भएको छैन । घटना भएको रात कसैले पनि बास नदिएपछि दुवैजना एउटा बाँस झ्याङमा गएर बसेको र महिलामाथि त्यहीँ कुटपिट गरेको खुलेको प्रहरीको भनाइ छ । पुण्य यसअघि पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ । चोरी, सर्वजनिक अपराध, महिलामाथिको दुरव्यवहारलगायतका घटनामा उनी पटक पटक जेल परेर छुटेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकै कारण उनलाई गाउँले र घर परिवारले पनि बहिस्कार गरेको पाइएको छ । पक्राउ परेका पुण्यविरुद्ध आज कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।