जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार ०७:०६

सुनिश्चित बन्दै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण


काठमाडौ, भदौ २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सुनिश्चित बन्दै गएको जानकारी गराउनु भएको छ । बुधबार हिजो बसेको केन्द्रीय सचिवालयको बैठकमा पाटीृ अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि राष्ट्रपति सीको नेपाल भ्रमण सुनिश्चित बन्दै गएको ‘ब्रिफिङ’ गर्नुभएको हो ।

‘विदेशमन्त्री वाङ यीको भ्रमणले राष्ट्रपति सीको भ्रमण सुनिश्चित बन्दै गएको प्रधानमन्त्री तथा अध्यक्षले ब्रिफिङ गर्नुभएको छ, विदेशमन्त्री वाङको भ्रमणमा राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको र त्यसअनुसार तयारी अघि बढाउँछौँ भन्ने जानकारी गराइयो,’ बैठकपछि सचिवालयका एक नेताले जनताटाइम्ससँग भने, ‘चिनियाँ विदेशमन्त्रीले हाम्रो निमन्त्रणा तथा अपेक्षालाई गम्भीरतापूर्वक लिनुभएको, उहाँले राष्ट्रपति सी पनि नेपाल भ्रमणका लागि सकारात्मक रहेको जानकारी दिनुभएको र त्यसैअनुसार अब दुवैतर्फबाट सम्पर्कमा रहेर गृहकार्य गर्ने समझदारी भएको अध्यक्षले जानकारी गराउनुभयो ।’

वरिष्ठ नेता झलनाथ खनालका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्रीसँग भएको भेटवार्तासँगै राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावना बढ्दै गएको सकारात्मक ब्रिफिङ गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी असोज मसान्तभित्र नेपाल भ्रमणमा आउने गरी तयारी गर्ने दुई देशबीच समझदारी भएको स्रोतको भनाइ छ ।