जनता टाइम्स

१६ आश्विन २०८०, मंगलवार १८:४०

विश्वमा त्रिविको स्तर घटेपछि सार्वजनिक गर्यो आफ्नो धारणा


काठमाडौं, १६ असोज । विश्वमा घटे पनि त्रिभुवन विश्वविद्यालयले आफ्नो स्तर एशियामा नघटेको बताएको छ । विश्व वरियतामा विश्वविद्यालयको स्तर निकै खस्केको देखिएपछि त्रिविले विज्ञप्ति जारी गर्दै विश्वमा घटे पनि एशियामा स्तर नघटेको जनाएको हो । सन् २०२३ मा टाइम्स हाइएर एजुकेशन स्तर मापन अनुसार त्रिवि विश्वस्तचरमा ८०१ देखि १०० को बीचमा रहेकोमा आउँदो वर्ष २०२४ को लागि भने स्तर मापनमा १२०१ देखि १५०० बीचमा देखाएको छ।

त्यस्तै एशियाका विश्वविद्यालयहरूमा त्रिवि मापन स्तर गतवर्ष जस्तै २५१ देखि ३०० बीचमा नै देखाएको छ । समग्र विश्वविद्यालयको स्तर मापनका विभिन्न सूचकहरुमा त्रिविले निरन्तर सुधार गर्दा पनि मापन स्तर केही कम देखिएको त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

टाइम्स हाइएर एजुकेशनले विश्वविद्यालयको स्तर निर्धारणमा अनुसन्धान साइटेसनलाई ३० प्रतिशत (अर्थात् एक तिहाई) अङ्कभार दिएर स्तर निर्धारण गर्ने परम्परा थियो । तर, सन् २०२४ बाट १५प्रतिशत मात्र अङ्कभार दिने गरी मूल्याङ्कन पद्धतिमा परिवर्तन गरेको पाइएको रजिष्ट्रारको कार्यालयले जनाएको छ । त्रिविको सबैभन्दा राम्रो सूचकलाई नै कम अङ्कभार बनाउँदा स्तरमा कमी आएको त्रिविको दाबी छ । यसको नकारात्मक असर चीन र भारतका विश्वविद्यालयहरूमा पनि पर्न गएको त्रिविको दाबी गरेको छ ।