जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार ११:२२

राष्ट्रिय युवा संघ नेपालको सांगठानिक संरचना तयार, केन्द्रीय समितिमा यसरी मिल्यो भागबण्डा


काठमाडौं, भदौ २६

सत्तारूढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले सांगठानिक संरचना तयार पारेको छ । संघले पार्टीसँग अनुमति लिएर ३३५ सदस्यीय केन्द्रीय समिति गठन गर्ने भएको छ । तत्कालीन युवा संघ र वाईसीएलका निर्वाचित सदस्यहरुलाई समेट्न यसअघि पार्टीले दिएको २५१ को सिलिङले नपुगेकाले ३३५ सदस्यीय बनाउन लागिएको हो ।

युवा संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलबीच समझदारी पछि जारी गरिएको प्रेस विज्ञप्ति अनुसार ३३५ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन युवा संघका १७६ र वाईसीएलका १५५ जना रहनेछन् । चार सदस्य पछि मनोनित गरिने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, केन्द्रीय समितिको एक तिहाइ सचिवालयमा युवा संघबाट ५७ र वाईसीएलबाट ५२ जना रहनेछन् । ९ सदस्यीय केन्द्रीय कार्यालयमा युवा संघका ५ र वाईसीएलका ४ सदस्य रहने सहमति भएको छ ।

युवा संघको एकता प्रक्रियालाई टुंग्याउन भदौ २७ गते साबिक संगठनका पदाधिकारीहरुको संयुक्त बैठक तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ । सोही दिन कार्यालय उद्घाटन् समेत हुने जनाइएको छ । कार्यालय भने पेरिसडाडामा रहनेछ ।

प्रेस विज्ञप्ती –

हाम्रा दुई गौरवशाली संगठन वाइसिएल नेपाल र युवा संघ नेपालबिच एकता भई बनेको राष्ट्रिय युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रियाका बारेमा यहि भदौं २५ गते संगठनका इन्चार्ज क.महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक क.राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक क.रमेश पौडेल उपस्थित विषेश बैठकले गरेका निर्णयहरु संम्प्रेशण गर्दछौं ।

१. राष्ट्रिय युवा संघको केन्द्रिय समिति ३३५ सदस्यिय बनाउनका लागि पार्टीसँग अनुमति मागियो । ४ पछि मनोनित गर्ने गरी ३३१ मध्य साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्य चयन गरिनेछ ।
२. केन्द्रिय समितिको एकतिहाईले हुन आउने १११ सदस्यिय सचिवालयमा साविक वासिएल नेपालबाट ५२ र साविक युवा संघ नेपालबाट ५७ सदस्य चयन गरिनेछ ।
३. केन्द्रिय कार्यालयको ९ सदस्यका लागि साविक युवा संघ नेपालबाट ५ र साविक वासिएल नेपालबाट ४ सदस्य चयन गरिनेछ ।
४. संगठनको केन्द्रिय कार्यालय काठमाडौंको पेरिसडाँडामा रहनेछ ।
५. यसअघि पस्तावित मस्यौदा विधान यो निर्णय समावेश गरी पारित गरिएको छ ।
६. ७ प्रदेशमध्य ३ मा साविक वाइसिएल नेपाल र ४ मा साविक युवा संघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।
७. ७७ जिल्लामध्य ४२ जिल्लामा साविक युवा संघ नेपालले र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।

एकता प्रक्रियालाई शिघ्र टुग्याउँन यहि भदौं २७ गते साविक पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको छ । साथै नयाँ चयन हुने केन्द्रिय समतिको बैठक अशोज ९ गते काठमाडौंमा बस्नेछ ।
प्रेस तथा पत्रकार मित्रहरुमा संगठनको कार्यालय उद्घाटन, पदभार ग्रहण कार्यक्रमका लागी भदौं २७ गते दिनको ३ बजे संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा हार्दीक आमन्त्रण गर्दछौं ।