जनता टाइम्स

१९ आश्विन २०८०, शुक्रबार १९:०६

घरेलु हतियारसहित विराटनगरबाट १५ जना पक्राउ


विराटनगर, १९ असोज । प्रहरीले विराटनगरबाट घरेलु हतियारसहित आज दिउँसो १५ जनालाई पक्राउ गरेको छ । तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीसहितको समूहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताउनुभयो ।

मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरीसहितलाई पक्राउ गरिएको हो । ९ जना १८ वर्ष मुनिका छन् ।

शेखकविसहित दुई जनालाई विराटनगरको घोघापुल चोक र अरुलाई शनिमन्दिर चोकबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमध्ये शेखकविको साथबाट तरबार फेला परेको छ । विराटनगरको एउटा कलेजमा अध्ययरत युवतीको विषयमा विवाद भएपछि घरेलु हतियारसहितको समूहबीच दोहोरो झडपको तयारी भइरहेको सूचना प्रहरीले प्राप्त गरेपछि उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।