विराटनगर, भदौ १। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कोशी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ। नेकपाले जीवन आचार्यको नेतृत्वमा तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा पठाउने निर्णय गरेको हो।
नेकपाका अनुसार जीवन आचार्य, गम्बु शेर्पा र खिनु लङ्वालाई मन्त्रीका रूपमा सरकारमा पठाइने भएको छ। त्यस्तै सपना दर्जीलाई राज्यमन्त्रीका रूपमा नियुक्त गर्ने निर्णय गरिएको छ।
सरकारमा सहभागी हुनेमध्ये जीवन आचार्य र खिनु लङ्वा यसअघि पनि प्रदेश सरकारमा मन्त्री भइसक्नुभएको छ। गम्बु शेर्पा र सपना दर्जी भने पहिलोपटक प्रदेश सरकारमा सहभागी हुन लाग्नुभएको हो।
नेकपाले एक जना मन्त्रीको नाम भने अझै टुङ्गो लगाउन बाँकी रहेको जनाएको छ। बाँकी नामबारे आवश्यक छलफलपछि निर्णय गरिने बताइएको छ।
यता, सत्ता साझेदार नेकपा एमालेबाट यसअघि सरकारमा रहेका मन्त्रीहरूले नै निरन्तरता पाउने भएका छन्। दलहरूबीच मन्त्रालय बाँडफाँट र सरकारमा सहभागिताका विषयमा सहमति बनेसँगै मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढेको हो।
नवनियुक्त मन्त्रीहरूले आजै शपथ लिने कार्यक्रम तय भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले दिउँसो ३ बजेपछि नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ।
नयाँ मन्त्रीहरूको नियुक्तिसँगै कोशी प्रदेश सरकारलाई थप पूर्णता दिने प्रक्रिया अघि बढ्ने भएको छ। नेकपाको सरकारमा सहभागितासँगै प्रदेशको सत्ता समीकरण थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्