जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार १२:५८

बदलियो प्रहरी : गर्यो गृहमन्त्रीकै भाईबिरुद्ध मुद्दा दर्ता


काठमाडौं, भदौ २६ । अवैध असुलीमा पक्राउ परी प्रहरी हिरासतमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशकुमार थापासहित आठ जना प्रतिवादीसँग काठमाडौं जिल्ला अदालतले बयान सुरु गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले पठाएको मिसिलका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार मुद्दा बुझाएपछि हिजोबाट प्रतिवादीहरूको बयान लिन थालिएको हो । न्यायाधीश मेदिनीप्रसाद पौडेलको चार नम्बर इजलासमा प्रतिवादीहरूको बयान भइरहेको हो ।

प्रहरीले गृहमन्त्रीका भाई थापासहित ९ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । पक्राउ परेकामध्ये थापासहितका ८ प्रतिवादीलाई बयान लिने काम भइरहेको हो । ‘नरेशबहादुर भनिने नरेशकुमार थापासमेत ८ जना प्रतिवादीको बयान जारी छ, थापासँग लिइसकिएको छैन,’ जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले भन्नुभयो । अदालतमा आज पनि प्रतिवादीको बयान जारी रहेको छ ।

गृहमन्त्री थापाका भाइ नरेश थापा अहिले प्रहरी हिरासतमा छन । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा जेलमा रहेका गुन्डानाइके समीरमानसिंह बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा प्रहरीले मुद्दा अघि बढाएपछि थापको संलग्नता खुलेको थियो । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नरेशले निर्माण व्यवसायीलाई फोन गरेर ‘पैसा नदिए जे पनि हुने’ भन्दै धम्की दिने गरेका थिए ।