जनता टाइम्स

२२ आश्विन २०८०, सोमबार १४:२६

सुन तस्करीमा संलग्नता पुष्टि हुँदा पनि प्रधानमन्त्री–गृहमन्त्रीको ठाडो आदेशमा माओवादी उपाध्यक्ष महरालाई उन्मुक्ति


काठमाडौं, असोज २२ । विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको सुन तस्करी प्रकरणमा संलग्न देखिएका पूर्वसभामुख एवं सत्तारूढ नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा उन्मुक्ति दिने गरी प्रहरीले राय प्रतिवेदन तयार पारेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनअनुसार प्रहरीले महरालाई सुन तस्करीमा संलग्नता देखिए पनि उन्मुक्ति दिन सिफारिश गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले पहिलो पटक गरेको अनुसन्धानमै महरा र उहाँका छोरा राहुल महराको सुन तस्करीमा संलग्नता पुष्टि भएको थियो ।

तर सत्ताको आडमा जोगाएको भन्दै चर्काे आलोचना भएपछि सिआइवीले पुनः छानविनको नाममा महराका छोरा राहुललाई संलग्नता देखाएर महरालाई चोख्याउने काम गरेको हो । महरामाथिको अनुसन्धान रोक्न सुरुमै प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठबाट दबाब परे पनि बाध्य भएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उहाँलाई अनुसन्धानको दायरामा भने ल्याएको थियो । तर अनुसन्धान टुंग्याउँदा महरालाई सुन तस्करीमा चोख्याएर प्रतिवेदन तयार पारिएको छ ।

जबकि सीआईबीले यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख गरेको छ ।

पढनोस यो तथ्य

तर यस पटक प्रहरीले महराका छोरा राहुललाई मात्र संगठित अपराध र भन्सार छलीको कसुरमा मुद्दा नचलाउन रायसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेर महरालाई जोगाएको हो । सिआइवीले छानविनको क्रममा महरापुत्र राहुललाई गत भदौ १३ मा पक्राउ गरेको थियो ।

पूर्वसभामुख महरासँग गत असोज १५ मा सीआईबीले कार्यालयमा बोलाएर बयान कागज गराएको थियो । भेपमा लुकाएर सुन ल्याउने गिरोहका नाइके दावाजिनसँग निकट पूर्वसभामुख महरालाई भने तथ्य र प्रमाणले पुष्टि नगरेको भन्दै सीआईबीले उन्मुक्ति दिएको छ ।

पूर्वसभामुख महरासँग सीआईबीले सोधपुछ मात्रै गरेर छाडेको हो । सीआईबीले भेप प्रकरणमा अहिलेको अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणबमोजिम ४ जनालाई प्रतिवादी र अरू ६ जना चिनियाँलाई पछि पक्राउ परेका बखत हुने गरी मुद्दाको अभियोजन गर्न रायसहित प्रतिवेदन बुझाएको छ ।

भेप प्रकरणमा जोडिएका अरू आरोपित हाल फरार रहेको र उनीहरू पक्राउ परेका बखत थप खुलेमा त्यहीअनुसार हुने गरी हाललाई ४ जनामाथि मात्र मुद्दा चलाउनुपर्ने सीआईबीको राय छ । जबकि पूर्वसभामुख महराले दुबईबाट ली हासङले सुटकेसभित्र ल्याएका भेप भन्सारमा जफत भएपछि दावाजिनले छुटाउन आग्रह गरेको स्वीकार गरिसक्नु भएको छ ।

‘सामान भन्सार रोकिए, तीन दिन भयो, के भएको हो बुझिदिनुपर्ने भयो भनी मलाई भनेको तथा मैले भन्सारमा के कसो भएको हो, कानुनबमोजिम के गर्न मिल्छ हेरिदिनुहोला भनी फोन गरेको हो,’ महराको बयानमा भनिएको छ, ‘दावाजिन वाङसँग मेरो पुरानो चिनजान हो, उनलाई म फलफूल व्यापारीका रूपमा चिन्छु । योबाहेक निजसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन ।’

सीआईबीले भेप प्रकरणमा पूर्वसभामुख महराका छोरा राहुलसहित तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ सुन तस्करका सहयोगी लोकेन्द्र पौडेल र फरार रहेका निमा गुरुङविरुद्ध ९ केजी ११.५२४ ग्राम सुन तस्करी अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा चलाउन राय दिएको हो । राहुललाई चिनियाँ तस्करको सहयोगीका रूपमा प्रतिवादी बनाउन भनिएको छ । भेपको सुनमा प्रतिवादी बनाइएका दावा छिरिङ ६१ केजी सुन र त्यसको अनुसन्धानबाट खुलेका थप तस्करी प्रकरणमा हाल पुर्पक्षका क्रममा कारागार चलान भएका छन ।

सीआईबीले दावा छिरिङसँग कारागारबाटै झिकाएर बयान लिएको थियो । भेप प्रकरणमा चिनियाँ गिरोहका दावाजिन वाङ, आसिन पेङ, ली फेङ पेङ, झाङजिन च्वाँ, ली हसङ र लिन नामका अर्का चिनियाँ गरी ६ जनालाई सीआईबीले फरार सूचीमा राखेको छ । हाल फरार विदेशीका हकमा नेपालमा पक्राउ परेका बखत अनुसन्धानबाट खुलेबमोजिम हुने गरी मुद्दाको अभियोजन गर्नककपर्ने सीआईबीको राय छ । दावाजिन ६१ केजी सुन प्रकरणमा पनि फरार छन ।

२०७९ पुस १० मा दुबईबाट चिनियाँ तस्करले ल्याएको ७ सय ३० थान भेप शंका लागेर त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । गोदाम सिल गरेर भेप राखिएपछि सुन तस्कर दावाजिनसहितको समूहले महरामार्फत छुटाउन भन्सार कार्यालयका अधिकारीलाई दबाब दिएका थिए । पूर्वसभामुख महरा र उनका छोरा राहुलले राज्य शक्तिको दुरुपयोग गरी सुनसहितका भेप छुटाउन चलखेल गरेका थिए ।

भन्सारले भेप लिलामीमा लैजाने निर्णय लिएपछि लिलामी सकार्न पनि चिनियाँ तस्करले महराका बाबुछोरामार्फत दबाब दिएका थिए । त्यस क्रममा महरा–बाबुछोराले नै भन्सारका कर्मचारीदेखि चिनियाँ सुन तस्करसम्मलाई २ सय ५६ पटक फोन सम्पर्क गरेको तथ्य यसअघि नै खुलिसकेको छ । महरासँग सम्बन्ध खुलेका दावाजिनसहितको गिरोहले ११ महिना अवधिमा मात्रै ३ सय ६३ केजी सुन तस्करीबाट भित्र्याएको तथ्य पनि खुलिसकेको छ ।