जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार १४:११

पर्यटनमन्त्रीको घोषणा कार्यान्वयन : भिभिआइपी ६ जनालाई मात्रै विमानस्थलभित्र गाडी लैजाने सुविधा


काठमाडौं, भदौ २६ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति–प्रधानमन्त्रीसहित अतिविशिष्ट ६ जनाका लागि मात्र आन्तरिक उडानतर्फ आफ्नै सवारी साधनबाट जान पाउने व्यवस्था लागू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बिमानस्थलको सुरक्षालाई मध्यनजर गरी सो ब्यवस्था कार्यान्वयनमा ल्याउनुभएको हो ।

मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै भट्टराईले १ वर्षे कार्यायोजनामा सम्माननीय ‘वीग सिक्स’ लाई मात्र आन्तरिक उडानमा जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा दिने घोषणा गर्नुभएको थियो । सम्माननीय ‘बिग सिक्स’मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष पर्दछन । विमानस्थलले बिहीबार सूचना नै जारी गरी मन्त्री भट्टराईको सो निर्णय कार्यान्वयनमा आएको जनाएको छ ।

यो निर्णय कार्यान्वयनमा आएसँगै अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षले मात्र आफ्नो सवारी साधन आन्तरिक उडानको जहाज नजिकै लैजान पाउने छन् । बिमानस्थलका अनुसार सम्माननीय सरह मर्यादा पाएका विदेशी समकक्षीलाई समेत उक्त सुविधा दिइएको छ ।

त्यसबाहेक अब विशिष्ट व्यक्ति (भीआईपी) हरुले भने वायुसेवा कम्पनीले उपलब्ध गराउने सवारी साधन नै चढेर जहाजसम्म पुग्नु पर्ने छ । अव पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, वहालवाला मन्त्री तथा अन्य विशिष्ट व्यक्तिहरुले अन्य यात्रुसँगै टर्मीनलबाट जहाजसम्म बसमा यात्रा गर्ने ब्यवस्था गरिएको छ । पर्यटन मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै बिमानस्थलको सुधार र सुरक्षामा मन्त्री भट्टराईले बिशेष चासो देखाउनु भएको थियो । मन्त्री भट्टराईले यसअघि नै बिमानस्थलको आन्तरिक उडानतर्फ पनि लगेज सिष्टम लागू गरिसक्नुभएको छ ।