जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार १५:१४

बलात्कार प्रयास गर्ने दुई पक्राउ


मोरङ, भदौ २६

बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका–४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

खड्का बस चालक र न्यौपाने बसका सहचालक हुन । बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार घुमेर ना ६ ख ९३४४ नं को बस चढेकी किशोरी झापा दमकमा उत्रन लागेको बेला उनीहरुले बस घुमाएर मोरङको रङ्गेली नगरपालिका–९मा ल्याएर बसभित्रै बलात्कार प्रयास गरेका हुन् ।

बलात्कार प्रयास गर्दै गर्दा किशोरी चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । पक्राउ गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीले मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो ।

महिलाको हत्या गरेको आरोपमा पक्राउ

३५ बर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादह नगरपालिका ६ दामुनाका ४५ वर्षीय पुण्य चुँडाललाई भदौ २५ गते पक्राउ गरेको छ । गत भदौ २१ गते आफुसंगै बस्दै आएकी नाम नखुलेकी सिर्जना भनेर बोलाउने आफ्नै प्रेमीकालाई कुटपिट पछि छोडेर हिडेको र उनको उपचारका क्रममा भदौ २२ गते कोशी अञ्चल अस्पतालमा मृत्यु भएपछि प्रहरीले चुँडाललाई खोजी गरिरहेको थियो ।

कुटपिट पछि रतुवामाई नगरपालिका ६ का हरिबहादुर खड्काको गाई गोठमा महिलालाई छोडेर चुँडाल भागेका थिए ।
शरिरका विभिन्न भागमा चोट लागेकी महिलाको रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरीले कोशी अञ्चल अस्पताल ल्याएको मोरङ प्रहरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु विगत एक महिना यता रतुवामाई नगरपालिका–६ मा बस्दै आएको मोरङ प्रहरीका प्रबक्ता श्रेष्ठले बताउनुभयो । चुँडाललाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । शवको परीक्षण कोशी अञ्चल अस्पतालमै गरिएपनि जिम्मा लिने कोही नभएका कारण शव गृहमा राखिएको प्रहरीको भनाइ छ ।