जनता टाइम्स

२३ आश्विन २०८०, मंगलवार १९:५८

आजकै दिन पक्राउ परेका थिए केपी ओली


काठमाडौं, असोज २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पञ्चायतीबिरोधी आन्दोलनको क्रममा पहिलो पटक पक्राउ परेको दिनलाई स्मरण गर्नुभएको छ । ओली आजकै दिन ५० बर्ष अगाडि अर्थात २०३० साल असोज २३ गते साँझ रौतहटबाट पक्राउ पर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पक्राऊ पर्नु भन्दा ६ महिना अगाडि आफ्ना मिलनसार साथी केआर खम्बुसँगको तस्बिरसहित सामाजिक सञ्जालमा असोज २३ को स्मरणमा केही शब्द खर्चुनु भएको छ ।

यस्तो छ ओलीको स्मरण

आधा शताब्दी नै भएछ । आज भन्दा ५० वर्ष अगाडि, २०३० साल असोज २३ गते साँझ ६ बजे रौतहटको इनरबारीबाट कोपुवा जाँदैगर्दा गन्तव्यमा पुग्नु केही मिनेट अगाडी म गिरफ्तारीमा परेको थिएँ । त्यसै क्षणपछिको १४ वर्ष मेरा लागि भयानक दुर्दिन सुरु भएका थिए । चरम यातना, नेल (हत्कडी, गोलघरको चिसो छिंडी र बिरालोले छाउरा सारे झैं २५ पल्टको जेल सरुवा, अहिले एउटा रोमाञ्चक सम्झना मात्र बनेको छ । ती दिन, महीना र वर्षहरु, त्यो समय, त्यो प्रणाली र त्यसबेलाका पात्रहरु, भोगाइहरु फिल्मको रीलजस्तो याद आइरहन्छन् । (पक्राऊ पर्नु भन्दा ६ महीना अगाडी मेरा मिलनसार साथी केआर खम्बुसँगको तस्बिर)