जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार १८:५८

असोज ५ देखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला, यसरी लिन सकिन्छ टिकट


काठमाडौं, भदौ २६ । दशैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच आजको बैठकमा यस्तो सहमति भएको हो।

महासंघका प्रवक्ता सरोज सिटौलाका अनुसार भाडा समायोजनको जिम्मा सरकारलाई दिँदै ५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो। दसैं, तिहार र छठको अवसरमा काठमाडौंमा बस्ने लाखौं मानिस घर फर्किन्छन्। काठमाडौंलाई कर्मथलो बनाउने अधिकांश मानिस विशेष पर्वको अवसरमा घर जाने गर्छन्। लाखौंको संख्यामा घर फर्किने सर्वसाधारणाको यात्रा सहज बनोस् भनेर सरकारले अग्रिम टिकट बुकिङ खुला गर्दै आएको छ।

यस वर्ष दशैंको घटस्थापना असोज १२ गते परेको छ भने असोज १८ गते फूलपाती, १९ गते अष्टमी, २० गते महानवमी र २१ गते विजया दशमी परेको छ ।दशैंका लागि दूर दराजसम्म यात्रुहरु पुग्नुपर्ने भएकाले वर्षाका कारण क्षति पुगेका सडक सुधारको कामलाई तत्काल अघि बढाउन सरकारसँग माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले बताउनु भयो ।

दशैंमा यात्रुलाई सहजताका साथ यात्रा गर्न आवश्यक व्यवस्था मिलाउन काठमाडौंमा मात्रै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने सहमति पनि भएको छ ।