जनता टाइम्स

२५ आश्विन २०८०, बिहीबार १४:०८

कर्मचारीलाई तलव खुवाउने पैसा छैन, प्रधानमन्त्री–मन्त्री–सचिव भने सरकारी खर्चमा बिदेशमा मस्ती


काठमाडौं, असोज २५ । दसैंको मुखमा कर्मचारीलाई तलव खुवाउने र लोककल्याणकारी बिज्ञापनको भूक्तानी दिने पैसा अभाव भइरहेको बेला मन्त्री र सचिवहरु भने सरकारी खर्चमा बिदेशमा मस्ती गरिरहेको पाइएको छ ।

मुलुकमा आर्थिक संकट आइरहँदा सरकारका मन्त्री, सचिव र सहसचिवहरूले भने आर्थिक मितव्ययितालाई खिल्ली उडाउँदै विदेश भ्रमण जाने क्रमलाई तीव्रता दिएका हुन ।

सरकारले विदेश भ्रमणमा कडाइ गर्ने नीति लिएको बताए पनि त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्री र मन्त्री आफैं असफल देखिएका हुन । मुलुक आर्थिक संकटमा फस्दै गइरहँदा करोडौं रुपियाँ खर्चंदै मन्त्री, सचिव र सहसचिवहरू निस्फिक्री विदेश भ्रमणमा गइरहेका छन् । उनीहरू डलरमा भत्ता बुझ्नकै लागि विदेश भ्रमणमा मरिहत्ते गरेका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भदौ र असोज महिनामा मात्रै ३० जना भन्दा बढी प्रतिनिधिमण्डल विभिन्न देश गइसकेका छन् भने अझै थुप्रै भ्रमणको पालो पर्खाइमा छन । यस अवधिमा सयौंको संख्यामा भ्रमण जानेहरूले भत्तास्वरूप लाखौं रुपियाँ बुझेका छन भने भ्रमण खर्चमा करोडौं रुपियाँ सकिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयले आफैंले विदेश भ्रमणमा कडाइ गर्नुको साटो उत्प्रेरित गर्ने काम गरिरहेको पाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत साता मात्रै अमेरिका र चीनको लामो भ्रमण गरेर फर्कनु भयो । उहाँ फर्केलगत्तै अरू मन्त्री, सचिवलगायतका उच्च पदस्थहरूको विदेश भ्रमणको लर्को लाग्न थालेको हो ।

कतिपय ठाउँमा मन्त्री मात्रै गए हुने भ्रमणमा सचिवहरू पनि मन्त्रीसँगै गएको पाइएको छ । मन्त्रीसँग मन्त्रालयका अन्य अधिकारीहरूलाई पठाए पनि हुने कार्यक्रममा सचिवहरू आफ्नो प्रतिष्ठालाई बिर्सिएर मन्त्रीको सहयोगीका रूपमा विदेश गइरहेका हुन ।

प्रधानमन्त्री कार्यालयका अनुसार हाल युरोप भ्रमणमा रहनु भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र सचिव केवलप्रसाद भण्डारी लामै समय त्यहाँ रहने कार्यक्रम छ । रोमानिया र जर्मनीसँग द्विपक्षीय श्रम सम्झौता गर्न गएको भनिए पनि उहाँहरूको मुख्य काम घुमघाम रहेको मन्त्रालयकै कर्मचारीले बताएका छन । मन्त्री र सचिवसँगै मन्त्रालयका आधा दर्जन कर्मचारी अहिले युरोपको घुमघाममा छन् ।

यसैबीच कैयौं मन्त्री र सचिवको निकट भविष्यमा हुने भ्रमण स्वीकृत भइसकेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बेलायतको लन्डनमा आगामी ७ मंसिरमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेलनमा भाग लिन जाने गरी गत मन्त्रिपरिषद् बैठकले स्वीकृति दिइसकेको छ । मन्त्री महतको यो विदेश भ्रमण डेढ महिनामा तेस्रो हो ।

अर्थमन्त्री महत ३ भदौमा ‘विश्व वातावरण सुविधा’का सातौं सभामा भाग लिन भन्दै क्यानडा जानुभएको थियो । यस्तै, उहाँ ५ असोजमा एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी हुन राजस्व सचिव रामप्रसाद घिमिरेलाई लिएर इजिप्टको कायरो पुग्नुभएको थियो ।

शहरी विकास मन्त्री सीता गुरुङलाई आगामी कात्तिक ७ देखि ९ गतेसम्म मलेसियाको क्वालालम्पुरमा हुने दिगो शहरी यातायातसम्बन्धी सम्मेलनमा भाग लिन मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । यसअघि उहाँ नेदरल्यान्ड, फ्रान्स र बेल्जियमको एक साता लामो युरोप भ्रमण सकेर फर्कनुभएको थियो ।

भदौको पहिलो साता स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत क्षयरोग नियन्त्रणसम्बन्धी बैठकमा सहभागी हुन भारत र सोही समयमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई चीनको कुनमिङ भ्रमणमा जानुभएको थियो । भारतबाट फर्केलगत्तै मन्त्री बस्नेत १८ भदौमा स्वास्थ्य विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन इजिप्टको कायरो पुग्नुभएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल भदौ ५ र ६ गते अतिकम विकसित राष्ट्रहरूको ‘भियना प्रोगाम’ एसिया क्षेत्रीय पुनरावलोकन बैठकमा भाग लिन थाइल्यान्डको बैंकक जानुभएको थियो ।

यस्तै भदौ २६ गते परराष्ट्रमन्त्री एनपी साउद राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानुभएको थियो भने २८ भदौमा जी–७७ को सम्मेलनमा भाग लिन भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल क्युबाको हवाना पुग्नुभएको थियो । यस्तै, असोज ५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानी मन्त्री महिन्द्रराय यादव पनि प्रधानमन्त्री पुष्पकमल प्रचण्डको टोलीमा सामेल भएर चीन पुग्नुभएको थियो । टोलीमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित विभिन्न मन्त्रालयका सचिवसमेत रहेका थिए ।

यस्तै, असोज ६ गते परराराष्ट्रमन्त्री एनपी साउद प्रधानमन्त्रीसँगै अमेरिकाबाट चीन भ्रमणमा गएकै बेलामा एसियाली खेलकुद हेर्न युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु पनि चीन पुग्नुभएको थियो । त्यसैको भोलिपल्ट ७ असोजमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं पनि चीन पुग्नुभएको थियो ।