झापा, असोज २५ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमालेसँग जुध्न आए सिंग भाँचिदिने घोषणा गर्नुभएको छ । झापाको अर्जनधारामा आज आयोजित युवा संघको कार्यक्रममा बस्नेतले यस्तो घोषणा गर्नुभएको हो ।
कार्यक्रम चलिरहेको बेला मेडिकल ब्यवसायी दुर्गा प्रसाईले पहिचानवादीको समुहमा छिरेर गाडी तोडेफोड गराएका थिए । बस्नेतले एमाले सिंह हो भन्ने कुरा नबिर्सन पनि चेतावनी दिनुभयो । ‘नेकपा एमाले सिंह हो भन्ने कुरा कतिपय मानिसले भुलेका छन, कहिले काहीँ जङ्गलमा सिंह रेष्ट गर्छ, स्यालहरूले यो सिंहको प्राण गयो कि भन्ने ठान्छन र जुँगा उखेल्छन र बाघे झापु हानेपछि स्यालहरूको सातो पुत्लो उड्छ’, बस्नेतले भन्नुभयो ।
एमाले र राष्ट्रिय युवा संघ नेपाल शान्ति, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डताको पक्षमा रहेको उहाँले बताउनुभयो । ‘नस्लवादीलाई स्विकार्दैन, पहिचानका नारा दिने अराजकतावादीहरूलाई स्विकार्दैन, सामाजिक सद्भाव भड्काउन चाहने कुतत्वलाई स्विकार्दैन, धार्मिक सहिष्णुता बिथोल्न चाहने तत्त्वहरूलाई स्विकार्दैन’, उहाँले भन्नुभयो ।
पूर्वराजा ज्ञानेन्द्रको फोटो बोकेर हिँडेका गद्धारहरु एमालेलाई चुनौती दिन आएका बस्नेतले बताउनुभयो । त्यस्ता व्यक्तिलाई देख्दा आफूलाई दया लागेर आउने बस्नेतको टिप्पणी थियो । एमाले जात, धर्म र पहिचानका नाममा विभाजित हुन नचाहने उहाँले प्रष्ट पार्नुभयो । ‘त्यो कुरा एमाले सहँदैन’, बस्नेतले भन्नुभयो ।
नेकपा एमाले समृद्धिको पक्षमा अघि बढ्ने पार्टी भएको उहाँले बताउनुभयो । केपी ओलीको पालामा भएका कामलाई एमाले सरकारमा गएपछि व्यवस्थित गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
राष्ट्रिय युवा संघ नेपालको हातमा जुझारु लाठो हुने बताउँदै बस्नेतले कसैले चलाउने प्रयास गरे भने त्यो लाठो युवाले बर्साउने उहाँले बताउनुभयो । एमालेसँग निहुँ नखोज्नुस्, भेडोले कहिले काहीँ घरको पिलरसँग निहुँ खोजेर हान्न जान्छ र सिङ फुत्किन्छ’,उहाँले भन्नुभयो ।
एमाले र राष्ट्रिय युवा संघ नेपालले विरोधीलाई क्षमा दिने गरेको उहाँले स्मरण गराउनुभयो । एमाले र राष्ट्रिय युवा संघ नेपालले पनि निषेध र प्रतिशोध सुरु गरे भने ११ हजार भोल्टको करेन्ट लाग्ने उहाँले चेतावनी दिनुभयो ।
उहाँले एमाले र राष्ट्रिय युवा संघको शक्ति ननाप्न आग्रह गर्नुभयो । एमाले र राष्ट्रिय युवा संघ नेपाल देश भरी रहेको कुरा नबिर्सन आग्रह गर्नुभयो । ‘एमालेका कार्यकर्ता र एमालेका युवालाई काहीँ कसैले छोयो भने ७७ वटै जिल्लाबाट त्यसको हिसाब किताब गर्नको निमित्त एमालेका कार्यकर्ता क्यालकुलेटर लिएर बसेका छन्’, उहाँले भन्नुभयो । बस्नेतले एमालेका विरुद्ध लाग्नेलाई सच्चिन वा सक्किन चेतावनी दिनुभयो । ‘सच्चिनुस्, सच्चिनु भएन भने सक्किन हुन्छ’, बस्नेतले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्