जनता टाइम्स

२६ आश्विन २०८०, शुक्रबार २१:०३

केपी ओलीको उदघोष : राजतन्त्र र अधिनायकवादी शासन समाप्त भइसक्यो, ब्युँताउने सपना नदेखे हुन्छ


काठमाडौं, असोज २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र ब्यूँताउने सपना नदेख्न सुझाव दिनुभएको छ । नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको दीक्षान्त समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो सुझाव दिनुभएको हो ।

‘राजतन्त्र र अधिनायकवादी शासन समाप्त भइसक्यो, ब्युँताउने सपना नदेखे हुन्छ,’ ओलीले भन्नुभयो । सम्बोधनको क्रममा उहाँले सत्यका विरोधीहरू एमालेका पनि विरोधी भएका बताउनु भयो । अध्यक्ष ओलीले भ्रष्ट, बेइमान, राष्ट्र र विकास विरोधीहरू एमालेका पनि विरोधी भएको बताउनुभयो । उनीहरूलाई एमालेले राम्रो काम गर्ने बित्तिकै टाउको दुख्ने गरेको ओलीले बताउनुभयो । ‘सबैमा समृद्धि होस् भन्ने बित्तिकै तिनीहरूको टाउको दुख्छ, पिर पर्छ’, ओलीले भन्नुभयो ।

एमालेले नराम्रो काम गरेको कारण विरोध भएको नभई राम्रो काम गरेको देख्न नसकेर विरोधीले विरोध गरेका ओलीको भनाइ छ । ‘हाम्रो विरोधी भनेकै इमानका शत्रु, सहीका शत्रु र न्यायका शत्रु हुन’, उहाँले भन्नुभयो ।

बेथिति र स्वार्थी पृष्ठभूमिबाट आएका मानिसहरूले यस्तो काम गरिरहेका ओलीले प्रष्ट पार्नुभयो । थिचोमिचो र दमनको पृष्ठभूमिबाट आएको आएको समाज भएको राजनीतिमा पनि त्यसैको प्रतिबिम्ब देखिएको उहाँले बताउनुभयो । यस्ता चुनौतीको सामना गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा एमालेले मात्र त्यो चुनौतीको सामना गर्न सक्ने ओलीले बताउनुभयो । नेकपा एमाले जनताको बहुदलीय जनवादको माध्यमबाट जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तको आधारमा अघि बढेको उहाँले प्रष्ट पार्नुभयो । जनवादी केन्द्रीयता बाहेक अर्को कुनै सङ्गठनात्मक सिद्धान्तको निर्माण नै नभएको उहाँले बताउनु भयो ।