दोलखा, असोज २७ । तामाकोशी गाउँपालिकाले एक बर्षको अवधिमा नै सवारी मर्मत र इन्धन खरिदको नाममा आधा करोड भन्दा धेरै रकम खर्च गरेको पाइएको छ ।
तामाकोशी गाउँपालिकाको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७९/८० मा २४ लाख ३७ हजार ६ सय २३ रुपैयाँ गाडी तथा मोटरसाईकलको इन्धन खरिदमा खर्च गरेको उल्लेख छ ।
त्यसैगरी सोही अवधिमा गाउँपालिकाले सवारी साधन मर्मतमा २८ लाख ५८ हजार ३ सय ७६ रुपैयाँ खर्च गरेको तथ्यांकले देखाएको छ । यसरी हेर्दा गाउँपालिकाले सवारी चालकको पारिश्रमिक र सवारी कर बाहेक नै बर्षमा आधा करोड भन्दा धेरै अर्थात ५२ लाख ९५ हजार ९ सय ९९ रुपैयाँ खर्च गरेको पाईएको हो ।
गाउँपालिकामा हाल अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्ने २ ओटा गाडी, एउटा स्काभेटर तथा २४ ओटा मोटरसाईकल प्रयोगमा रहेको छ । तिनै सवारी साधनको यति धेरै खर्च आएको हो ।
तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सीर्जना सुवेदीले गाउँपालिकाको गाडि व्यक्तिगत प्रायोजनका लागि चरम दुरुपयाग गर्दै आएको तथ्य यसअघि नै खुलिसकेको छ । उपाध्यक्ष सुवेदी चढेको प्रदेश ३–०१–००२ झ ४९२६ नम्बरको स्कोरपियो गाडी भदौ ६ गते दिउँसो सिन्धुपाल्चोकमा दुर्घटनामा परेपछि यो तथ्य बाहिरिएको हो ।
सुवेदी आफ्नो कान्छो छोराको इन्गेजमेन्ट (टिकाटालो) मा सहभागि हुन काठमाण्डौं गएर फर्कने क्रममा सो दिन गाडी दुर्घटनामा परेको थियो ।काठमाण्डौंबाट दोलखा आउँदै गरेको उपाध्यक्ष सुवेदी चढेको गाडि र विपरित दिशाबाट आईरहेको बा।प्र।०२–०२४ प ७४९१ नम्बरको मोटरसाईकल अरनिको राजमार्ग अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका–११ बहरबोटेमा ठोक्किएर दुर्घटना भएको थियो ।
गाडी दुर्घटनामा परेको समयमा गाउँपालिकाको नियुक्ति नै नभएका ड्राईभरले गाडि चलाएको प्रमुख प्रशासकीय अधिकृत बद्री प्रसाद वाग्लेले नैजानकारी दिनुभएको थियो । उपाध्यक्षले चढ्ने गाडिका ड्राईभर भुवन कार्की बिदामा बसेको समयमा केही दिनका लागि उपाध्यक्षले नकुल कार्कीलाई गाडि चलाउन लगाएको र भुवन कार्की बिदा सकिएर कार्यालय हाजिर भएपछि पनि नकुल कार्कीलाई नै गाडि चलाउन दिईएको थियो ।
युवा नेतृत्व पाएको तामाकोशीमा अध्यक्ष प्रोणप्रताप केसी र उपाध्यक्ष सिर्जना खडका सुवेदीले मितब्ययिता अपनाउने आम पालिकावासीको अपेक्षामा चिसो पानी खन्याउँदै बर्ष दिनमै सवारी मर्मत र इन्धनमा आधा करोड खर्च गरी ‘उत्कृष्ट’ कामको नमुना पेश गर्नुभएको हो । तामाकोशी नेतृत्वको यो उत्कृष्ट काम देखेपछि पालिकावासी भने लाजले भुतुक्कै बन्नुपरेको छ ।













प्रतिक्रिया दिनुहोस्