जनता टाइम्स

२ कार्तिक २०८०, बिहीबार १३:३८

साउदीसँग फराकिलो जितसँगै सेमिफाइनलमा पुग्यो नेपाल


काठमाडौं, कात्तिक २ । एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई ३ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको छ । अर्जुन कुमालको शानदार ब्याटिङ र दिपेश कँडेलको कसिलो बलिङको सहयोगमा नेपालले सहज रुपमा फराकिलो जित हात पारेको हो ।

नेपालले प्रस्तुत गरेको ३ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा साउदी १९.१ ओभरमा ४६ रनमा अलआउट भयो । नेपालका लागि दिपेश कँडेलले सर्वाधिक ६ विकेट लिए । ९.१ ओभर बलिङ गर्दै कँडेलले १८ रन खर्चिए । नेपालका लागि आकाश चन्दले २ तथा सुवास भण्डारीले १ विकेट लिए ।

साउदी अरेबियाका लागि बरुण सराभनान मुदलिएरले सर्वाधिक ११ रन बनाउँदा मुहमद घयोर अहमद र अबदुल्लाह सिराजले ९–९ रन बनाए। साउदीका अन्य ब्याट्सम्यान पनि सस्तैमा समेटिए । यसअघि नेपालले नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४७ रनको विशाल योगफल तयार पारेको थियो।

साउदी अरबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले शानदार ब्याटिङ प्रर्दशन गरेको थियो । नेपालका लागि अर्जुन कुमालको १ सय ४३ रनको शानदार इनिङ्स खेले। यसैगरी आकाश त्रिपाठीले ९० रनको योगदान गरे । ओपनर दिपक बोहराले २९ रन बनाउँदा बिशाल बिक्रम केसीले अविजित २४ रन बनाए । दिपक प्रसाद डुम्रेले १४ रन बनाउँदा दिपेश कँडेलले १३ र मिलन बोहराले ९ रन बनाए । कप्तान देव खनाल भने शून्य रनमा पेभिलियन फर्किए ।

साउदीका मुहमद अहमद राजा, अब्दुल्लाह सिराज र मुहमद घयौर अहमदले समान २/२, जुहिर मुहमद र सजिव मुजिवुर रहमानले समान १/१ विकेट लिए। नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताका शीर्ष तीन टीमले यू–१९ एसिया कपमा स्थान बनाउनेछन । यो जितसँगै नेपाल मलेसियामा जारी प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।