जनता टाइम्स

२ कार्तिक २०८०, बिहीबार १८:४०

वाग्मतीमा पनि गठबन्धन सरकार ढल्न लागेको गगन थापाको खुलासा


काठमाडौं, कात्तिक २ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कोशीपछि बाग्मती प्रदेशमा पनि गठबन्धन सरकार ढल्ने खुलासा गर्नुभएको छ । प्रेस युनियन काठमाडौंले दशैँ, तिहार, नेपाल संवत्, छठ लगायतका पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले यस्तो खुलासा गर्नुभएको हो ।

कोशीको प्रभाव वाग्मती प्रदेशमा पनि देखिन लागेको भन्दै महामन्त्री थापाले माओवादीको मुख्यमन्त्री स्वीकार नगर्ने बिन्दुमा कांग्रेस सांसद पुगेको बताउनु भयो । माओवादी केन्द्रका सालिकराम जम्मकट्टेल नेतृत्वको सरकार ढाल्न कांग्रेसका प्रदेश सभा सदस्यहरू लागिसकेका थापाको भनाई थियो ।

‘बाग्मतीका कांग्रेस सबैभन्दा ठुलो दल भएकाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने अभियानमा हाम्रा प्रदेश सभा सदस्यहरू लागिसक्नु भएको छ,’ थापाले भन्नुभयो । उहाँले आफूलाई भेट्न चार जना प्रदेश सदस्य आउनुभएको बताउँदै उहाँहरूले माओवादीको नेतृत्व मान्न नसकिने कुरा स्पष्ट शब्दमा राख्नेको सुनाउनु भयो । ‘हामी सबैभन्दा ठुलो पार्टी हो, हामी माओवादीलाई मान्दैनौँ, हाम्रो केही दिनभित्र १२/१३ जना पुगेका छन्, सरकार बदल्दिऔँ भन्दै हुनुहुन्थ्यो’, थापाले भन्नुभयो ।

महामन्त्री थापाले चुनाव अगाडिको गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने पनि बताउनुभयो । ‘निर्वाचन भन्दा अगाडिको गठबन्धन रणनीतिको हिसाबले फाइदा होला तर सैद्धान्तिक हिसाबले गलत, जुन कुरा सैद्धान्तिक हिसाबले गलत छ, त्यसलाई कुनै रणनीति बनाएर देशको सेवा गर्न मिल्दैन’, थापाले भन्नुभयो ।

सम्बोधनको क्रममा उहाँले सत्ता गठबन्धन दलकै नेताको पनि जमेर आलोचना गर्नुभयो । नेपाली कांग्रेसले फागुन १ गतलाई जनयुद्ध दिवसको रूपमा मान्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । ‘सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भन्यो भने कांग्रेसले हामी गठबन्धनमा छौँ यसलाई मान्छौँ भनेर स्वीकार गर्न सक्छ ? सक्दैन, हामी फागुन १ लाई दिवसको रूपमा मान्दैनौँ’, थापाले भन्नुभयो ।

महामन्त्री थापाले प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाल बसेको बैठक गठबन्धनको बैठक मान्न नसकिने पनि प्रष्ट पार्नुभएको छ ।