जनता टाइम्स

५ कार्तिक २०८०, आईतवार १५:३२

बडा दशैंले परिवार–समाज र राष्ट्रलाई भावनात्मक रूपमा एक बनाएको छ : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं, कात्तिक ५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारले दशैंले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बडा दसैँ २०८० को अवसरमा शुभकामना सन्देश खिँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बिश्वास ब्यक्त गर्नुभएको हो । उहाँले दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना पनि दिनुभएको छ ।

‘हाम्रा चाडपर्वहरू हाम्रो सभ्यता, धर्म, संस्कृति र जीवनपद्धतिसँग अभिन्न रूपमा जोडिएका छन्। असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बडा दशैं पर्वको आर्थिक र सामाजिक पक्ष समेत उत्तिकै महत्त्वपूर्ण रहेको छ,’ पूर्वराष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ ।

उहाँले दशैंको बिशेष महत्व रहेको पनि प्रष्ट पार्नुभएको छ । ‘वर्षा ऋतुको कृषि कर्म सकिएपछि सुरम्य शरद ऋतुमा किसानले थकान मेटेर आराम र मनोरञ्जनसँगै सन्तुलित भोजन ग्रहण गर्ने पर्वका रूपमा दसैँको विशिष्ट महत्त्व छ । देश र परदेशमा रहेका परिवारका सदस्यहरू भेला भएर मान्यजनबाट टीका र जमरासहित आशीर्वाद लिने पर्वका रूपमा दशैंले हाम्रो असल सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ। दुर्गा भगवतीको उपासना तथा मातृशक्तिको आराधना यस पर्वको अर्को विशिष्ट पक्ष हो, जसले हाम्रो प्रकृतिपूजक समुदायमा विद्यमान मातृशक्तिको प्रमुखतालाई अभिव्यक्त गर्दछ। दसैँले यसरी हाम्रो समाजका अधिकांश वैशिष्ट्यलाई समेटेको छ ।’

ग्रामीण कृषि समाज र सहरी औद्योगिक समाजमा दसैँजस्ता चाड पर्वले पार्ने मनोवैज्ञानिक प्रभाव अवश्य नै फरक रहेको उहाँको भनाई छ ।

‘कृषिबाट क्रमशः अन्य पेसातिर सङ्क्रमण गरिरहेको समाज तथा यातायात र सञ्चारको विकास एवं जीविकोपार्जनका माध्यममा आएको परिवर्तनका कारण मीठो खान, राम्रो लगाउन र आफन्तसँग भेटघाट गर्न अब दसैँको प्रतीक्षा गरिरहनु पर्दैन। तथापि देशविदेशमा छरिएका परिवारका सदस्य बीचको पुनर्मिलनका साथै मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिने जस्ता मौलिक परम्पराले गर्दा बडा दसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको छ । विदेशमा पनि नेपाली संस्कृतिको वाहकका रूपमा यस पर्वले हामीलाई आपसमा जोडिरहेको छ,’ सन्देशमा भनिएको छ ।